अर्को सय वर्ष पनि संघर्ष गर्नपर्ने हुनसक्छ : सभामुख
१४ चैत
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।
शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपिएको बताए । तर पनि संसद्ले गति लिन थालेको भन्दै उनले अब जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिए ।
गएको पुस ५ देखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उनले बताए । निकै उतार–चढाव र बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र योबीचमा समुद्र मन्थन भई संसद्ले पुनः गति लिएको उनको भनाइ थियो ।
उनले संसद्मा जनअपेक्षाअनुसार काम नभएको स्वीकार पनि गरे । राष्ट्रियताको सवालमा संसद्ले अद्भूत एकता प्रदर्शन गरेको र ठूल्ठूला समस्या समाधान गरेको उनले उल्लेख गरे ।
संसद् बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने सभामुख सापकोटाले प्रष्ट पारे । अहिले केही अन्योलता देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको उनले बताए ।
७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने पनि बताए । उनले भने, ‘‘हामीले धेरै चिन्तित हुनुपर्ने, निराश हुनुपर्ने कुरा छैन । किनभने, समस्याहरु आउँछन् । निकै ठूला–ठूला समस्या पनि आउँछन् चुनौती पनि आउँछन् । यो बहस, वादविवाद संवाद हुँदै फेरि अन्तिम निष्कर्षमा ठिक हुन्छ । फरकै छैन । मुख्य कुरा बहस हो । बहस भयो कि भएन ? बहस भएको छ ।
एकदम बिहंगम बहस भएको छ । महान् बहस भएको छ । भ्रमहरु फैलिएका छन् भने पनि हामी धेरै चिन्तित हुनु पर्दैन । भयानक भ्रमहरुबाट महान् सत्यको जन्म हुन्छ । त्यसकारण हामीले ७० वर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र हामीले भनिरहेका छौँ, अहिले हामीलाई कता–कता त्यो लोकतन्त्र विकास विस्तार र सुदृढ भएन भन्नेजस्तो लागिरहेको छ ।
हामी किन राष्ट्रको जीवनमा त्यति साँघुरो ढंगले सोच्छौँ । ७० वर्ष होइन, अर्को सय वर्ष पनि लड्नपर्ने हुनसक्छ । अर्को सय वर्ष पनि संघर्ष गर्नपर्ने हुनसक्छ । त्यसकारण हामीले राष्ट्रको जीवनलाई हाम्रो व्यक्तिको जीवनसित जोडेर समय सिद्धिन लाग्यो, धेरै भयो भनेर हामीले नसोचौँ । चिन्तित हुनुपर्ने कुरा छैन । जे हुँदै छ, ठिकठिक हुँदै छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE