किनमेलका नाममा भीड बढेपछि किराना पसल पनि बन्द गर्ने निर्णय
१२ जेठ, काठमाडौँ – कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भएको छ ।
काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको बताउनुभएको हो ।
‘व्यावहारिकता हेरेरै पानी, फलफूल र तरकारीलाई रोकेका छैनौं, दाल, चामल त एक हप्तालाई किनेर राख्दा भइहाल्छ’ भट्टराईले भन्नुभयो, ‘त्यसका लागि दुई दिन समय पनि दिएका छौं ।’
दुई दिनसम्म सबै पसल खुल्ने भएकाले भीडभाड नहुने उहाँले बताउनु भएको छ । भट्टराईले भन्नुभयो, ‘निषेधाज्ञा मात्रै अचूक उपाय होइन, जनता आफैंले पनि सहयोग गर्नुपर्यो । एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन ।’
भट्टराईले ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै नागरिकलाई प्रशासनको निर्णयलाई सकारात्मक रुपमा लिइदिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘प्रशासनले निषेधाज्ञा लगाएर जमघट नगर भन्यो तर, किनमेलका नाममा पसलहरुमा भीड बढ्यो । जनताले सतर्कता अपनाइदिएको भए यो निर्णय गर्नैपर्ने थिएन ।’
कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE