सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह
सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह
१३ जेठ, काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गर्नुभएको छ । साथै उहाँले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गर्नुभएको छ ।
उहाँले आज वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै यही जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन–पत्र बुझाएको समेत स्मरण गराउनुभएको छ । “कांग्रेस आफै पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडालाई कम गर्न सक्रियताका साथ लागि परेको छ । तर देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम काँग्रेसले गर्न सक्ने कुरा भएन । सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पीरमर्का गौण हुन पुगेका छन्” उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
देशैभर अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण सङ्क्रमण र मृत्युदर कम हुन नसकेको उल्लेख गर्दै सभापति देउवाले सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको सङ्क्रमण रोक्न फेरी पनि सरकारले निषेधाज्ञाको साहारा लिएको आरोप समेत लगाउनुभएको छ । सङ्क्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्नेमा निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम भएको उहाँको टिप्पणी छ ।
उहाँले कोभिड–१९ विरुद्धको खोप तत्काल आपूर्ति गर्न, देशभर आवश्यकतानुसार आईसियु वेड र अक्सिजनको व्यवस्था गर्न तथा निम्न आय भएका नागरिकलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्नुभएको छ । देशको हरेक गाउँ÷नगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्नस सङ्क्रमण रोक्न सशक्त सचेतना अभियान सञ्चालन गर्नस ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न पनि सरकारसँग उहाँले माग गर्नुभएको छ ।
सभापति देउवाले निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखी आवश्यकताअनुसार कार्यान्वयन गर्न, विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न तथा खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि माग गर्नुभएको छ ।
सभापति देउवाले भन्नुभएको छ, “वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु ।”
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE