Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

लकडाउन खुकुलो भएसँगै यातायातले यात्रु ठग्न थाले

१८ असार, काठमाडौँ – उपत्यकामा सवारी सञ्चालन भएसँगै यातायातकर्मीहरु यात्रु ठगी गर्न थालेका छन् । बुधबार मात्रै ठगी गर्ने केही यातायातका कर्मचारीलाई पक्राउ गरी कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पनि आठ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

उनीहरुले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गरेको फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारीदेखि तथा निजी सवारी साधनका चालकसमेत रहेका छन ।

मुलुकमा हवाई यातायातसमेत सञ्चालन भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्ला जाने अधिकांश यात्रु यातायातकर्मीबाट ठगिन थालेपछि ट्राफिक प्रहरीले विशेष जाँच थालेको छ ।

“जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी छुट्टै टोली परिचालन गरेका छौँ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको छौँ”, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE