Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सरकारले भन्यो- ‘तत्काल कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सकिन्‍न’

१७ जेठ, काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने सरकारले जानकारी गराएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा बोल्दै मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।

फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने मिति नजिकिए पनि नपाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । तर विभिन्न प्रयास गर्दासमेत उपलब्ध हुन नसक्ने डा पोखरेलले बताए । ‘पहिलो डोज लगाएको अब करिब ११ हप्ता बितिसकेको छ,’ उनले भने, ‘फागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने ज्येष्ठ नागरिक तथा अन्य नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना नदेखिएको अवस्था छ ।’

स्वास्थ्य मन्त्रालयले खोपका लागि कूटनीतिक पहल गरेको र खरिदका लागि कम्पनीहरुसँग सम्पर्क गरिरहेको बताउँदै पोखरेलले कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरुसँग छलफल गरेको जनाए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE