काठमाडौं उपत्यकाका १० वटा अस्पतालमा कोरोना संक्रमण
काठमाडौं काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन् । आइतवार एकै दिन ३० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आइतवार सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै धेरै २७ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरमा २ जना र भक्तपुरमा एकजना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा भेटिएका अधिकांश संक्रमित विभिन्न अस्पतालका रहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट काठमाडौं जिल्लाका २१ जना संक्रमित भेटिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका छन् । त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टायता भेटिएका संक्रमितमा १५ पुरुष र १५ महिला छन् । तीमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा रहेका २१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आइतवार भेटिएका संक्रमितमा ४ जना नेपाली सेना र ४ जना सशस्त्र प्रहरी अस्पतालका रहेको खुलेको छ । अन्य एकजना संक्रमित बूढानीलकण्ठ नगरपालिका निवासी छन् ।
आइतबार स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि गरेकामध्ये सशस्त्र प्रहरीको युनिफाइड हस्पिटल बलम्बुमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वीरेन्द्र अस्पताल छाउनीमा १ जना पुरुष पनि संक्रमित भएका छन् । मन्त्रालयका अनुसार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ३ जना पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ । केही साताअघि पनि ह्याम्समा कोरोना संक्रमित भेटिएका थिए । मन्त्रालयले आइवार साँझ सार्वजनिक गरेको विवरणमा रिङ रोडस्थित इशान चिल्ड्रेन अस्पतालमा १ जना महिला संक्रमित भएकी छन् । त्यसैगरी जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा दुईजना महिलामा संक्रमण देखिएको छ । त्यस्तै बाँसबारीस्थित न्यूरो अस्पतालमा २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ५ महिला र १ पुरुष संक्रमित भेटिएका छन् । शिक्षण अस्पतालमा यसअघि पनि कोरोना संक्रमित भेटिएका थिए । त्यहाँ उपचारपछि फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको थियो । पानी पोखरीस्थित नेपाल पुलिस अस्पतालमा २ जना महिलामा संक्रमण देखिएको छ । उता चाबहिलसथित दीघार्यु गुरु अस्पतालकी एक महिलामा पनि संक्रमण देखिएको छ । रिङ रोडस्थित चिरायु अस्पतालकी एकजना महिलालाई पनि संक्रमण देखिएको छ ।
मन्त्रालयको विवरणमा नारायणहिटी दरबारभित्र तैनाथ चारजना सेनाका जवानमा पनि कोरोना देखिएको छ । जस अनुसार नारायणहिटीस्थित गोरखबहादुर गणका ४ जना सैनिकमा कोरोना पुष्टि भएको हो । अर्कातिर सशस्त्र प्रहरीका चारजनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतवार नै सार्वजनिक गरिएको विवरणमा बूढानीलकण्ठ नगरपालिका निवासी एकजना पुरुषमा पनि कोरोना देखिएको छ । काठमाडौंमा कोरोना संक्रमण समुदायमा गए नगएकोबारेमा मन्त्रालयले अहिलेसम्म केही पनि जानकारी दिएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE