Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपत्यकाको निषेधाज्ञाः ट्याक्सी चल्न पाउने, कुन बार कुन पसल खोल्न पाइने ?

उपत्यकाको निषेधाज्ञाः ट्याक्सी चल्न पाउने, कुन बार कुन पसल खोल्न पाइने ?

६ असार, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । निषेधाज्ञा यसअघि भन्दा थप खुकुलो बनाउँदै लम्ब्याइएको हो ।

आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

हाल असार ७ गते मध्यरातिसम्मका लागि लागू गरिएको निषेधाज्ञा पछि थपिएकोे निषेधाज्ञा लागू हुनेछ ।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने जनाइएको छ ।

त्यस्तै ट्याक्सीहरूलाई पनि जोर–बिजोर प्रणाली अनुसार चलाउन दिइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘थपिएको निषेधाज्ञामा आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।’ उनले बताए ।

यस्तै खाद्यान्न, दूध, किताब पसलहरु बिहान ११ बजेसम्ममात्र खोल्न दिइनुका साथै रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न, निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

यद्यपि शनिबार अत्यावश्यक बाहेक अरु पसल खोल्न नदिइने जनाइएको छ ।

सरकारी कार्यालय भने सीमित कर्मचारी राखेर सञ्चालन गर्न सकिने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE