सरकारी खर्च बुधबारदेखि रोकिने
प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ।
२९ भदौ, काठमाडौँ – संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । आजको संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताउनुभयो।
सो अवसरमा शर्माले भन्नुभयो ‘विधेयक पारित गर्नका लागि केही समय ग्याप रह्यो भने सरकारी खर्च रोकिन पनि सक्छ, खर्च रोकिए पनि कर उठ्छ ।’ आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाउनुभएकोछ। सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम अघि आइपुगेको जनाइएकोछ। तर उहाँले त्यसबारे कुनै टिप्पणी गर्नुभएन। अघिल्ला दिनहरुमा जस्तो उहाँले न त प्रतिपक्षीहरुलाई बस्न भन्नुभयो न त बैठकमा नाराबाजी रोक्न आग्रह नै गर्नुभयो । बैठक सुरु भए लगत्तै उहाँले विनियोजन विधेयक अर्थात् बजेट माथिको सैद्धान्तिक छलफल अगाडि बढाउनुभयो। अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिनुभयो।
शर्माले प्रस्ताव राखेपछि बोल्न नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिनुभयो । सुवालले आफ्नै स्थानबाट एमसिसीको विरोधमा वक्तव्य दिनुभयो । अर्थमन्त्री शर्माले जवाफ दिन रोष्टम पुग्नुभयो । उहाँले सुवालले राखेको विचारका लागि धन्यवाद भन्दै छोटो टिप्पणी मात्र गर्नुभयो । प्रतिपक्षीहरुले नारा लगाइरहँदा सभामुखले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नुभयो । प्रस्ताव बहुमतले स्वीकृत भयो । त्यसपछि सभामुखले पूर्व राष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव राख्नुभयो। शोक प्रस्तावका मौन धारण गर्न आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीद्वारा नाराबाजी रोकियो। मौनधारणा पछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE