Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नगरप्रहरीलाई नेपालभाषाको प्रशिक्षण (ललितपुर महानगरपालिका)

भदौ २२,ललितपुर-ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगरप्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा उक्त भाषाले सहजता तुल्याउने ठहर गरी दुई साताको प्रशिक्षण दिन थालिएको  हो ।

नगरप्रहरीप्रमुख सीताराम हाछेथूले महानगरको नेवारी बस्तीमा नेपालभाषा प्रयोग गरेर काम गर्दा अपनत्वको व्यवहार पाएसँगै उक्त भाषा जान्न अति नै आवश्यक रहेको देखिएकाले सोमबारदेखि असोज ३ गतेसम्म प्रशिक्षण राखिएको बताए ।

उनले भने, ‘यहाँ बसोबास गर्ने कैयौँ वृद्धवृद्धामा नेपाली भाषाको ज्ञान अभाव पाएसँगै उहाँहरूको समस्या सुन्न र बुझ्नसमेत यसले सहयोग गरेको छ ।’ हरेक मानिसले आफू कार्यरत स्थानको भाषा अनि संस्कृति जान्दा धेरै काम बन्दै जाने उनको बुझाइ छ ।

महानगरपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगरप्रहरीलाई दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम जारी राखिएको हाछेथूले जानकारी दिए । नेवा स्यानेगुठी प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रहरीले काममा खटिँदा दोहोरो सञ्चार गर्न सक्ने आधारभूत भाषाको प्रशिक्षण दिइने बताए । ‘हामीले नेवारीमा सम्बोधन गर्नेदेखिका आवश्यक भाषा सिकाउनेछौं,’ उनले भने ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका भित्री बस्तीमा बढीजसो नेवार समुदाय रहेकाले नगरप्रहरीले आफ्नो सेवा चुस्त–दुरुस्त बनाउन भाषाको प्रयोग गर्न पाउने बताए । उनले भने, ‘यस क्षेत्रमा लगभग ६० प्रतिशत नेवार रहँदा प्रहरीले सबैसँग मिलेर काम गर्ने पाउनेछन् ।’

ललितपुर महानगरपालिकामा कुल ७८ नगर प्रहरी कार्यरत छन् । तीमध्ये २९ जनालाई पहिले नै नेपालभाषाको जानकारी रहेकाले प्रशिक्षणमा सहभागी नगराइएको महानगरले जनाएको छ। महानगरपालिकाका पाटन, खोकना, बुङ्मती, सुनाकोठी, हरिसिद्धिलगायत क्षेत्रमा नेवारी समुदायको बसोबास छ ।

WRITE COMMENTS FOR THIS ARTICLE