Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

चुनावी सुरक्षा उत्कृष्ट ढंगबाट निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आउँदो मंसिरमा हुने निर्वाचन सुरक्षा उत्कृष्ट ढंगबाट निर्वाह गर्न निर्देशन दिएका छन्।

आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बोल्दै सेनापति शर्माले उक्त निर्देशन दिएका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि उनले मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिए।

मतपत्रको छपाइ, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी गर्नुपर्ने, विस्फोटक पदार्थ निष्क्रिय पार्नुपर्ने लगायतका काममा व्यावसायिकताको उदाहरण पेस गर्दै गर्न प्रधानसेनापति शर्माले निर्देशन दिए।

नेपाली सेनाका सकलदर्जालाई पदबहालीको एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्दै शर्माले आफ्नो कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिहरुको समीक्षा गरेका थिए।

शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्न निर्देशन दिए।

साथै राष्ट्रिय गौरवको काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजना समयसीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE