“मधेश प्रदेशमा कृषि क्रान्ति: महावीर पुनको अभियान र प्रदेश सरकारको प्रतिबद्धता”
रवि ऋषि
जनकपुरधाम – मधेश प्रदेशको समृद्धि र आत्मनिर्भरताको एक प्रमुख आधार कृषि उत्पादन र उत्पादकत्व वृद्धि हो। तर, पछिल्ला वर्षहरूमा कृषिमा लगानीको तुलनामा आम्दानी घट्दै गएको र खेतीपातीका लागि आवश्यक सामाग्रीको अभाव रहेको किसानहरूको गुनासो छ। प्रदेश सरकारले कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै मधेशको उर्वर भूमि, सुनौलो विगत र परम्परागत ज्ञानलाई आधुनिक प्रविधि र व्यावसायिकतासँग जोडेर कृषि उत्पादनमा सुधार गर्ने योजना बनाएको छ।
यसका लागि किसानको पहुँचमा सुपथ मूल्यका कृषि औजार पुर्याउनु अपरिहार्य छ। यसै सन्दर्भमा, अभियन्ता महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनर्संचालन गर्ने महत्त्वपूर्ण कदम चालेका छन्। आफ्ना संघर्ष र जीवनका कथा समेटिएको पुस्तक बिक्री गरेर रकम संकलन गर्दै उहाँले यो ऐतिहासिक कामलाई अघि बढाइरहनुभएको छ। यो प्रयास राष्ट्रिय पूँजीको संरक्षण गर्दै किसानका हातहातमा आधुनिक कृषि उपकरण पुर्याउने अनुकरणीय उदाहरण हो।
प्रदेश सरकारका तर्फबाट म आज जनकपुरधामस्थित सरकारी निवासमा महावीर पुनसँग भेटघाट गरेँ। उहाँको पुस्तक खरिद गरेँ, जसमा संघर्ष र सफलताका कथाहरू छन्। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँको तेजिलो अनुहारमा देश निर्माणको गर्विलो संकल्प देखेँ।
मधेश प्रदेश सरकार यो अभियानमा पूर्ण साथ छ। महावीर पुनजस्ता दुरदर्शी अभियन्ताको नागरिक सपना र प्रदेश सरकारको प्रतिबद्धता मिलेर कृषि औजार विकास र प्रवर्द्धनको अभियानलाई नयाँ उचाइमा पुर्याउने निश्चित छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE