Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

फल्स बटमयुक्त स्कारपियोबाट ठुलो परिमाणको लागूऔषध बरामद, चार भारतीय नागरिक पक्राउ

मकवानपुर, साउन ११ – लागूऔषध तस्करीको नयाँ शैली अपनाउँदै फल्स बटम (कृत्रिम तह) बनाइएको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेकामा भारतको सुगौली घर भई नेपाल हुँदै काठमाडौंतर्फ आउँदै गरेका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन्। शेख गजुर उक्त गाडीका चालकसमेत रहेको पुष्टि भएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको नेतृत्वमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकमा स्कारपियो (BR 05 PA 9093) जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
गाडीका तीनवटा ढोकामा कुशल तरिकाले फल्स बटम बनाई तस्करी गरिएको लागूऔषधमा निम्न परिमाणमा औषधि भेटिएको छ:
• नोफिन: २,४०० वटा
• डायजेपाम: २,००४ वटा
• प्रोमेथाजिन हाइड्रोक्लोराइड: २,४०० वटा
• ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल: ५ वटा
पक्राउ परेका व्यक्तिहरूले उक्त लागूऔषध कहाँबाट किन ल्याइएको थियो भन्ने विषयमा कुनै स्पष्ट विवरण दिन सकेका छैनन्। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई लागूऔषध र गाडी सहित थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय, भीमफेदीमा बुझाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
स्रोतका अनुसार पछिल्लो समय सीमा क्षेत्र हुँदै काठमाडौंसम्म लागूऔषध तस्करीका गतिविधिहरू बढ्दै गएको र तस्करहरू अब अत्याधुनिक प्रविधिको प्रयोग गर्न थालेको देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE