Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

पुत्र वियोगमा भाव विह्वोल भए प्रचण्ड, रोकिएनन् सितादाहालका आँसु : प्रकाश स्मृति दिवस

काठ्माडौँ- तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको प्रथम स्मृति दिवसमा बोल्ने अधिकांश नेताले उनको योगदानको सम्झना गरे ।

नेकपा अध्यक्ष प्रचण्ड र सीता पुत्र प्रकाशको पहिलो स्मृतिसभामा सयौंको संख्यामा उपस्थित नेता तथा सर्वसाधारणले फूलमाला अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रचण्डको गला अवरुद्ध भएको थियो । उनी केहीबेर बोल्नै सकेका थिएनन् । प्रचण्डले प्रकाशको अवसानलाई सामना गर्नु आफ्ना निम्ति सजिलो नभएको स्मरण गरेका थिए । तर सबै नेपालीहरुको माया, सद्भाव, प्रेम र हौसलाको कारण असम्भव जस्तो लाग्ने पीडालाई पनि आफूहरुले सामना गर्न सकेको बताए ।

कार्यक्रममा पुत्र प्रकाशको तस्विर अगाडि दीप प्रज्वलन गर्न पुग्दा देखिनै भावुक बनेका प्रचण्डको मन्तब्य दिने क्रममा गला अवरुद्ध भएको थियो ।उता कार्यक्रमको सुरुदेखि नै प्रचण्ड पत्नी सीताको आँखाबाट आँसु अटुट बगिरहेको थियो भने बेलाबेला पुत्रबियोगमा भक्कानींदै गर्दा माहोल स्तब्ध बनेको थियो । सीता भावविह्वल भइरहँदा उनलाई सम्हाल्न मञ्चमै छोरी रेणु दाहाल पुगेकी थिइन् ।

सानो निम्तोलाई पनि स्वीकार गरेर कार्यक्रम स्थलसम्म आउनेहरुको प्रेरणा नै हामीलाई बाँच्ने र कर्तव्यपथमा अगाडि बढ्ने प्रेरणा बन्न गएको भन्दै प्रचण्डले भनेर्, यदि तपाईंहरुको सहयोग, सद्भाव, प्रेम र विश्वास हुँदैनथ्यो भने सायद हाम्रो परिवार नै विघटन भइसकेको हुन्थ्यो ।’

प्रचण्डले प्रकाशमा केही बालसुलभ कमीकमजोरी भए पनि उदयीमान प्रतिभाको रुपमा परिपक्व हुँदै गएको स्मरण पनि गरे । परिवार, पार्टी र देशले व्यहोरेको मोडहरुलाई नजिकबाट नियालेको नाताले ऊ धेरै नै परिपक्व हुँदै गएको अवस्था थियो । भरोसा गर्न सकिने स्थिति थियो’, उनले भने ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, झलनाथ खनाल, बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले दाहाल परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको उल्लेख गरे ।

दाहाल परिवारले तीन वर्ष अघि निधन भएकी छोरी ज्ञानु र प्रकाशको स्मरणमा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’को घोषणा गरेको छ । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यसहित सामाजिक उत्थानका गतिविधि गर्ने छ ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सुरुदेखि नै सक्रिय प्रकाश माओवादी शान्ति प्रक्रियामा आएपछि पिता पुष्पकमलको निजी सचिवालयमा कार्यरत थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE