Date
शुक्र, कार्तिक २३, २०८१
Fri, November 8, 2024

निर्मला प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गरिने

काठमाडौँ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि ‘म्याच’ नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरूसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

अहिले प्रहरीले भीमदत्तनगर– १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोधपुछका क्रममा उनीहरूले अपराध स्वीकार गरेका छन्, तर उनीहरूका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो । हाल पक्राउ परेकाको डिएनए रिपोर्ट म्याच नभए उनीहरूलाई पनि छाड्ने प्रहरी तयारी छ ।

रावल र चौधरीको डिएनए म्याच नभए विशेष अनुसन्धान टोली गठन गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । संगठित अपराध ऐन आएपश्चात् एकपटक मात्र यस्तो विशेष टोली गठन भएको छ । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा यस्तो टोली गठन गरिएको थियो । यस्तो टोलीले आफैँ पक्राउ पुर्जी दिएर पक्राउ र सोधपुछ गर्न पाउँछ । टोलीमा प्रहरीबाहिरका स्वतन्त्र अनुसन्धानकर्ता मात्र राख्न सकिने प्रावधान ऐनमा छ ।

हाल डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृतका रूपमा तोकेर अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सिआइबीलगायत प्रहरीका विभिन्न निकायबाट अधिकारीहरू खटिएका छन् । चार महिनामा प्रहरीले तीन सयभन्दा धेरैलाई पक्राउ गर्दा पनि अभियुक्त फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलको सुरक्षा नगर्नु र प्रमाण मेट्नुले कसैलाई जोगाउन खोजिएको आशंका व्यक्त गरिँदै आएको छ ।

महेन्द्रनगरका स्थानीयहरूले भने प्रदीप र विशाललाई फसाउन खोजिएको आशंका व्यक्त गरेका छन् । प्रहरी स्रोतले प्रदीप विगतमा पनि बलात्कारको घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको बताए पनि उनका काका बलबहादुर रावलले त्यो गलत भएको बताए । नयाँपत्रिकाबाट

WRITE COMMENTS FOR THIS ARTICLE