Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

म एक पुर्वराजाको सन्तान

दरबारको पश्चिम तर्फ पानीको मुहान छ जसलाई पुरानो पानी भनिन्छ

इतिहास आधुनिक समाजको ऐना हो । इतिहासविना न कुनै समाजको विकास न यसको उन्नति हुन सक्छ । इतिहास नै समाज विकासको आधारको रुपमा रहेको हुन्छ । खासगरी इतिहासको अध्यनन एक जटिल विषय हो, सबैले इतिहासको अध्ययन गर्न सक्देैनन न त यसको संरक्षण गर्न नै । यद्यपि एक जटिल विषय हुदाँहुदै पनि इतिहासको अध्ययन अनुसन्धान गरी यसको संरक्षण र संवद्र्धन गर्न जरुरी हुन्छ । जसको पाठ भोलिको पुस्ताहरुले पनि सिक्दै जाउन र आफ्नो इतिहास  पढी गौरव गर्न सकुन । यीनै उत्प्रेणाका आधारका हामीले हाम्रो प्राचिन राज्य सिम्ताराज्यको इतिहासको अध्ययन गरी यसका कला, परम्परा, रितीथिति, सँस्कृति आदिको संरक्षण गर्दै पुस्तान्तरण गर्ने प्रयत्न गरेका छौ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको जिल्ला सुर्खेतको वीरेन्द्रनगरबाट झन्डै १९ कोष पुर्वमा सिम्ता गाउँपालिका अवस्थित रहेको छ । पुर्व सल्यान, पश्चिम चिङ्घाड, दक्षिण गुर्भाकोट र उत्तरमा जाजरकोट जिल्लासँग जोडिएको उक्त गाँउपालिका एउटा छुट्टै भौगोलिक र ऐतिहासिक परम्परा बोक्दै आएको छ । सिम्ताको ऐतिहासिक पृष्ठभूमि पल्टाएर हेर्ने हो भने उति बेला यस सिम्तामा सातसय मौजा रहेको थियो । फलस्वरुप यस दरालाई सातसय सिम्ता भन्ने प्रचलन रहेको थियो । खासगरी यस दराको नाम कसरी सिम्ता रहन गयो भन्ने बारे विभिन्न किंम्वदन्तीहरु छन । यस क्षेत्रमा प्रसस्त सल्लो पाईने र त्यसको फललाई सिम्ता भनिने हँुदा यसको नाम सिम्ता रहन गएको भन्ने एक थरीको तर्क छ भने अर्को थरीको भनाई बमोजिम सिम्ताका विभिन्न ठाउँमा प्रसस्तै तामाखानीहरु थिए जहाँ सिमतामा पाईन्थ्यो । उक्त सिमतामा उत्खनन नगरी भारतको वलारामपुरमा लगेर विक्रि गर्ने चलन थियो । यस क्षेत्रमा प्रसस्त मात्रामा सिमतामा पाईने भएकोले यसदराको नाम सिमतामाबाट अपभ्रंस भई सिम्ता रहन गएको हो ।

देशको राजनीतिक परिवर्तन पश्चात भएको राज्यको पुर्नसंरचना पश्चात सिम्तादरा सिम्ता गाँउ पालिकामा परिणत भएको छ । साविकका ८ ओटा गाँउ विकास समितिहरुमध्ये बजेडिचौर गाँउ विकास समितिलाई दुईवटा वडा विभाजन गरी जम्मा ९ वटा वडा कायम गरिएको छ । केन्द्रिकृत राज्य सत्ताको सौतेने व्यवहारले गर्दा यो क्षेत्र विकास तथा पुर्वाधारका क्षेत्रमा अत्यन्तै पिछडिएको छ ।  पर्याप्त प्राकृतिक साधन स्रोतहरु हुँदाहँुदै पनि तिनको सहि सदुपयोग हुन नसक्दा यहाँको विकास हुन सकेको छैन । यहाँ थुप्र्रै ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रहरु छन, तिनीहरुको संरक्षण र संबद्र्धन गर्न सकेको खण्डमा यो क्षेत्र आर्थिक समृद्धिको बाटोमा लामबद्ध हुने कुरामा दुईमत छैन ।

खासगरी सिम्ता क्षेत्रको एक ऐतिहासिकता बोकेको, इतिहासमा राजनीतिक र प्रशासनिक अड्डाको रुपमा स्थापित राजकाडाँ दरबार यस क्षेत्रको गौरव बोकेको  ठाउँ हो । साबिकको आग्रीगाउँ र काफलकोटको सिमानामा छसय पहिले निर्माण भएको दुईतले दरबारको भग्नावशेष अहिले पनि यथावतै छ । अहिले पनि भुँइतलाका पाँचवटा कोठाका भग्नावशेष जग देख्न सकिन्छ । मुख्यतः नेपाल बाईसे–चौविसे राज्यमा विभाजित बनेको अवस्थामा पश्चिम नेपालको शक्तिशाली राज्य सिँजाबाट छुट्टिएर सिम्ता राज्य भएको थियो । कतिपय वयवृद्धहरुको भनाई अनुसार सिँजाराज्यमा भाइ–भाई छुट्टिएर पछि एउटा भाईको भागमा सिम्ता राज्य परेको भन्ने भनाई पनि रहेको छ । सिम्ता राज्यको राजधानी सामारिक तथा सुरक्षाका दृष्टिले सुरक्षित भएको ठाउँ लापुको राजकाँडामा स्थापना गरिएको थियो । तर कतिपयको भनाईमा पहिले काँडासिम्तामा यसको राजधानी बनाइएको तर असुरक्षाका कारण राजकाडामा सारिएको भन्ने भनाई छ । सिम्ताको प्रथम राजा सुरसिहँ ठकुरीसग आएका अन्य जातिहरु भण्डारी, बाहुन, कामी, दमाईका थुप्रै पछिल्ला पुस्ताहरुका भनाइ अनुसार पहिलो राजधानी राजकाडा नै रहेको र पछि एक भाई छुट्टिएर काडासिम्ता गएको भन्ने भनाईबाट पनि प्रथम राजधानी राजकाडा नै हो भन्ने धेरैको मत रहेको छ ।

भारतमा मुस्लिम विद्धोह हँुदा आफ्नो धर्मको रक्षागर्न हाल भारतको श्रीमोर लगाएत विभिन्न ठाँउबाट नेपालका पहाडि जिल्लाहरुमा भारतीय हिन्दुस्तानीहरु आएका थिए । उनिहरुले पश्चिम नेपालका सिँजा, बझाङ, दैलेख, जाजरकोट, सल्यान लगायत ठाँउमा राज्य स्थापना गरी बसोबास गरेको हाम्रो इतिहासले बोलेको छ । आज भन्दा झन्डै छसय वर्ष पहिले यस राज्यका प्रथम राजा सुर सिँह ठकुरी हुनुभएको थियो । उहाँसगै आएका च्याबुल्लो बाहुन, नरसिङ भण्डारी, आसेदासे कामी, सुनाउजी दमाई सिम्ताका विभिन्न ठाँउमा बसोबास परेका थिए । जुन वस्ती र जातिहरु अहिले पनि यहाँका विभिन्न ठाउँमा छन । उतिबेला देखि नै ठकुरीहरुले राजकाज चलाउने परम्परा बमोजिम सिम्ता राज्यमा सिँह ठकुरीहरुले शासन सञ्चालन गर्दै आएको पाईन्छ । लापुको देउली बाट झण्डै २०र२५ मिनेटको बाटो रहेको राजकाँडा दरबार हाल भग्नावशेष रुपमा रहेको छ । दरबारको पश्चिम तर्फ पानीको मुहान छ जसलाई पुरानो पानी भनिन्छ । त्यसबेलानै ढुङ्गाले छेकेर निर्माण गरिएको नाउलो अहिले पनि देख्न सकिन्छ । उक्त मुहानको माथि अग्लो डाँडा छ, उक्त डाँडामा पहिले देखिनै राजाको आदेशमा दशँै पुर्णिमामा मेला लाग्ने गरेको पाइन्थ्यो तर हाल त्यो मेला सोही समयमा देउलीमा लगाउने गरिएको पाइन्छ । दरबारको दक्षिण तर्फ झण्डै ४००र५०० मिटर लम्बाइको चौर छ, जसलाई खन्टकोेचौर भनिन्छ । जहाँ राजाले घोडा कदम खेलाउले गर्दथे । चौरका उत्तरतर्फ नजिकै खोलामा पानीको मुहान छ त्यसलाई नाउली भनिन्छ । नाउली घोडा दौड गरी सकेपछि विसाउने, घोडालाई पानी खुवाउने ठाँउ हो । खन्टेकोचौरमा प्रत्येक वर्ष वैशाख पूणिमामा ठुलो घोडा दौड प्रतियोगिता हुने गर्दथ्यो । सिम्ता राज्यको विघटन पश्चात पनि सिम्ताका सबैठाँउबाट मानिसहरु आएर वैशाख पूर्णिमाको अवसरमा छेलोरसटफुट, बलछेलो (धेरै ठुलो गह्रौँ बलवानले मात्र हान्न सक्ने) र लोरेछेलो (सानो लोरो जस्तो टाढा फाल्न सक्ने) परम्परा छ, जुन हाल लोप हुने अवस्थामा छ । दरबारको ठिक मुनतिर पुर्वतर्फ दुधलाउन छ । जहाँबाट तामाको पुदालो लापु देउनको बाउन धारा सम्म बिच्छाइएको थियो । दुधलाउनको पुदालोबाट लगाइएको दुध बाउन धारासम्म आउदथ्यो । उक्त धाराको पानी जाजरकोट थालाका शाहीहरुले अहिलेसम्म पनि पिउन हुदँैन । जनश्रुति अनुसार उतिबेला थालाका ओड जाति बाहुनको घर बनाउन आएका थिए । उनि घर फर्किसकेपछि लापुका बाहुनहरु असाध्यै धनि छन उनिहरुलाई हटाएर आफ्नो वस्ति बसाउने भनि आक्रमण गरी सबै ब्राहमणहरुलाई मारेका थिए । ती मध्ये एकजना बाहुनी माइतीमा गएकी रहेछिन र पछि फर्केर आएपछि उनि सहित एकजना सानो बच्चालाई पनि मार्न खोजेपछि बच्चालाई ताउलोमा लुकाएर बचाइन र पछि भागेर ज्यान बचाएकी थिइन । त्यसपछि उनले माइती देवता मुरिल्लोलाई गुहार मागिन । जसको परिणाम स्वरुप थालामा एकैदिनमा बाइस मान्छेका शवहरु निकालिएको थियो । त्यसैले अहिले पनि लापुलाई बाइसाको ठाँउ भनिन्छ ।  सो किंम्बदन्ती अनुसार अहिले पनि थलाल शाहीहरुले उक्त धाराको पानी पिउनु हुदैन भन्ने बुढापाकाहरुको कथन छ ।

गोर्खा राज्यको विस्तारसँगै पृथ्वीनारायण शाहले थालेको नेपाल एकिकरणको बेला सिम्ता राज्य गोर्खा राज्यमा गाभियो । नेपाल एकिकरणको क्रममा दाङ, सल्यान जित्दै आएको बहादुर शाहको गोर्खाली फौजले सिम्ता राज्यलाई पनि कब्जा गर्याे । यसरी सिम्ता राज्यको पतन हुन पुग्यो ।

हामीलाई थाहा छ कि हरेक समुदायका आ–आफ्ना इतिहास, प्रथा–परम्परा, सँस्कृति हुन्छन । हरेक समुदायका हरेक पुस्ताहरुको आफ्नो इतिहास परम्परा नयाँ पुस्ताका पुस्तान्तण गर्नु जिम्मेवारी र कर्तव्य हुन आउँछ । अझै भन्दा नेपाल त बहुल जाति, सँस्कृति, रहनसहन बोकेको देश । तीनै बहुलताले नै नेपाल, नेपाल बन्न सकेको छ । अतः म सिम्ता राज्यका प्रथम राजा सुरसिहँ ठकुरीको सन्तान हुनुको नाताले मैले मेरो राज्यको इतिहास, यसको गौरव, यसको कला, सँस्कृति एवम प्राचिनता मेरो आउदो पुस्ताको लागी संरक्षण गर्न, हाम्रो राज्यको छसय वर्ष पुरानो दरबार र यससगँ सम्बन्धित भग्नावशेषलाई जीर्णाेद्धार गरी एक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक देखेको छु ।

अन्ततः सुर्खेत जिल्लाकै एक ऐतिहासिक महत्व बोकेको राजकाडा दरबार यस गाउँपालिकामा अवस्थिति छ, जसको जीर्णाेद्धार गरी एक संग्राहलयको रुपका विकास गर्न सकेको खण्डमा यसको गौरवमय इतिहासको संरक्षणका साथसाथै पर्यटक आगमनले यहाँका तमाम गरिवीको रेखामुनी रहेका सम्पूर्ण जनता  सरोकारवालाहरुको आर्थिक, सामाजिक, भौतिक तथा शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुने निश्चित देखिन्छ । अतः यस गाँउपालिका भित्रको यस ऐतिहासिक महत्व बोकेको ठाँउलाई जिर्णाेद्धार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु आवश्यक छ ।

भुपाल सिंह ठकुरी
सुर्खेत

WRITE COMMENTS FOR THIS ARTICLE