अवस्था फेर्न, व्यवस्था फेर्न नसकेको जनयुद्ध
शहिदहरु बोलिरहेको—हाँसीरहेकोे लेखे मैले रातो अक्षरमा, गैरी गाँउको बजारैमा शहिद गेटैमा ।।
हो साच्चिकै सुन्दर सपना बोकेर, सुन्दर नेपाल निर्माण गर्न, जनताको राज्य स्थापना गर्ने भनेर हजारौँ शहिदहरुले रगतको भेल बगाए, आफ्नो जीवन उत्सर्ग गरे, उनीहरुप्रति हार्दिक श्रद्धासुमन यो महान जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसरमा ।
त्यो कहाली लाग्दो १० वर्षे सशस्त्र संर्घष, जनताको अपार मायाले सफलता प्राप्त गरेको जनयुद्ध, निडर र साहसी नेता कार्यकर्ता एउटै मात्र लक्ष्य जनताको राज्य स्थापना गर्ने, मजदुर किसान हेपिएका चेपिएकाहरुको राज्यसत्ता निर्माण गर्ने, जनतालाई समानता र न्याय दिने, यी र यस्तै कैयन सपनाहरु बोकेर जनयुद्धको भट्टीमा होमीएका सिपाहीहरु, त्यो नेतृत्व ती कार्यकर्ता कहाँ छन के गर्दैछन कसैलाई कसैको मतलब र महत्व छैन । तीनै नेता कार्यकर्ता हिजो प्रचण्ड बाबुराम किरण बादल आदि नदेख्दा नचिन्दा र नभेट्दा पनि उनीहरुका लागी ज्यान दिन तयार भए, मर्न तयार भए तर खै उनीहरु के गर्दैछन आजभोलि । तीनै मध्येका एकजना पुर्व जनमुतिm सेनाका सिपाही मलेसियाको कुनै एउटा कम्पनीमा लेवरको काम गर्दै आएकाछन । उनी भन्दछन ‘साच्चिकै जनयुद्धले त नेतृत्वलाई फुलायो फलायो, दाता बनायो तर कार्यकर्ताको विचल्ली पार्याे, त्यही जोश जाँगरमा काम गरेको भए आज हाम्रा पनि राजधानी, बजारमा घरघडेरी हुने थिए तर १० वर्ष लडियो अन्तत अयोग्य भनि खाली हात घर फर्काइयो ।’
मुख्यगरी मालेमावादको विचारलाई आत्मासात गरी नेपालमा जनयुद्धको शुरुवात भयो । यसले ठुलाठुला सफलता हासिल पनि गर्याे । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा विशेषगरी नेपालको वर्ग संर्घषको इतिहासमा दीर्घकालिन जनयुद्ध एक आदर्श पात्र बन्यो । नेपालकै क्रान्तिलाई कतिपय देशका कम्युनिष्ट क्रान्तिकारीहरुले शिरोधार्य गर्न पनि पछि परेनन । यसरी महान छलाङ हानेको जनयुद्ध, यति ठुलो बलिदान गरेको जनयुद्ध, यस्तो रगत पसिना बगाइको जनयुद्धको प्रतिफल पहाड भत्काएर मुसा निकाले जस्तो भएको छ । जनयुद्ध कालिन महान पार्टी, जनयुद्धकालिन महान नेतुत्व शान्ति प्रक्रियामा आईसकेपछि महमा झिँगा टाँसिएर अन्त्य भएझै भयो ।
मुख्यतः संसदीय व्यवस्था दलाल व्यवस्था हो, संसदीय व्यवस्था खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बिक्री गर्ने थलो हो भनि आदर्श छाट्ने नेतृत्व आज सोही थलोको मालिक भैई आलिसान बनेका छन । एकाएक नवदलाल र नव धनाड्याको रुपमा परिणत भएका छन । जनयुद्धको मूल नेतृत्व यसरी संसदीय भासमा फस्यो कि साहेद त्यो चाहेर पनि त्यहाँबाट निस्कन सक्दैन । तीनै कार्यकर्ताले काँधको भ¥याङ बनाए, माथि चढाए, पठाए, बचाए तीनै आज सडकमा भिख मागिरहेका छन, विना उपचार अस्पतालको बेडमा मृत्यु कुरिरहेका छन, विदेशमा गुलामी गरीरहेका छन तर माथि चढ्नेहरु आलिशानको मस्त निद्रामा घुँरिरहेका छन, न उनका कान छन न उनका आँखा छन न उनका छाला । केही सुन्दैनन, देख्दैनन, महसुसै गर्दैनन ।
जनयुद्धकै नाममा १७ हजारले ज्यान गुमाए । के उनीहरु संसदीय व्यवस्था सुधार्न लडे ? के नेतृत्वलाई दाता बनाउन लडे ? के एउटा राजाको सट्टा सयाँै ठुटे राजा जन्माउन लडे ? के विदेशी प्रभुको सामु एसम्यान बन्न लडे ? के कालो धनलाई चोख्याउन लडे ? के भ्रष्टाचार, कमिसन खाउ, कमाउ भनि लडे ? अहं त्यो हुँदै होइन । जो लडे, शहिद बने उनीहरु एक समतामुलक, शान्त, समृद्ध नयाँ नेपाल निमार्णको निम्ति लडे । जो एक सुन्दर सपना देखेर लडे, शहिद बने जुन बाटो देखाएर गए उनैको बाटो आज भत्काइएको छ, उनैको योगदान भुलिएको छ बिर्सिएको छ ।
सम्झनाको नाममा १ मिनेट मौनधारण बाहेक कुनै मूल्य छैन । कुनैदिन त्यो पनि अवश्य भुल्नेछन । उनीहरुको निम्ति जनयुद्ध एकादेशको कथा बन्नेछ । जनयुद्धको मूल नेतृत्व चारचिरामा बाँडियो । त्यही नेतृत्व कोही महान जनयुद्ध महान शहिदहरु भन्दै गाला बजाउछन, ढ्वाङ पिट्दै हिड्छन त कोहीले जनयुद्धको निशानी समेत मेटिसके । जुन विचारले जुन आदर्शले जनयुद्धले फड्को मार्याे, उनीहरुले फड्को मारे त्यसलाई, त्यो विचारलाई तिलाञ्जली दिदै वहुलबाद र वर्ग समन्वयमा नाचिरहेका छन । लाग्दैछ कि उनीहरु प्रतिक्रान्तिका एक हिस्सा बन्दैछन ।
भनिन्छ न बुढो बाघले सिकार गर्दछ न हारेको सिपाहीले पुन युद्ध लड्न सक्छ, नेपाली वर्गसंघर्षको इतिहासमा त्यो सिद्ध भएको छ । शान्ति प्रक्रियामा आएर न शान्तिपूर्ण संघर्षलाई निरन्तरता दिन सक्यो न कार्यकर्ताको सही व्यवस्थापन जसको परिणामस्वरुप देश पुन द्धन्दको सिकार बन्ने दिशातिर जादैछ । व्यवस्थापन त भयो केवल सिमित व्यक्तिहरुको मात्र । वर्षाै लडेका सिपाहीहरु अयोग्य भनि रित्तो हात घर फर्काइयो । घाइते अपाङ्ग अस्पतालका वेडहरुमा छट्पटाईरहेका छन, शहिद परिवार अयोग्यको ट्याग लगाइएकाहरु दलालहरुको मेलो गर्न बाध्य छन ।
साहेद त्यही होला जनयुद्धको उपलब्धि । उपलब्धिको नाममा देशको व्यवस्था त फेरियो तर जनताको अवस्था फेरिएन । व्यवस्था परिवर्तनको नाममा एक राजाको नाममा सयाैँ ठुटेराजाहरु जन्माइयो, आरक्षणको नाममा सिमित मान्छेको गृहस्थी सुधारियो, विकासको नाममा दलालहरुको आँगनमा धारा जोडियो, सड्क बाटो खँनियो तर बहुसंख्यक जनताहरु एकछाक रोटो र एकसरो भोटो, एक ट्याब्लेट सिटामोल नपाएर मरिरहेकाछन । त्यो महान जनयुद्ध व्यवस्थासँगै अवस्था फेर्न भएको थियो ।
यतिबेला देशैभरी २४ औँ जनयुद्धकोे वार्षिकोत्सव जनयुद्धलाई सम्झना गर्नेहरु मनाइरहेका होलान । केहीका लागी यसको महत्व छैन कि उनीहरुले जनयुद्धलाई र यसको निशानी मेटाइसकेका छन तर अधिकांस जो क्रान्तिप्रति इमानदार छन, जनयुद्धको मर्म बुझेका छन, शहिदको कसम खाएका छन, सुन्दर नेपालको सपना देखेका छन उनीहरु शहिदले देखाएको बाटो कदापि भुल्ने छैनन र जनयुद्धको त्यो महान लक्ष्य चुम्नेछन । जनयुद्ध दिवस मनाउनु र सम्झनुमात्र ठुलो कुरा रहेनछ कि यसको लक्ष्यमा पुग्न यसले देखाएको अविचलित बाटोमा निरन्तर लामबद्ध भइ क्रान्तिको झन्डा उठाइरहनु, बढाईरहनु महानता हो । यही नै जनयुद्ध दिवस मनाउनुको औचित्य र साख रहनेछ ।
भुपाल सिंह ठकुरी
सुर्खेत
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE