Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

१६ वर्षीया अभियन्ता नोबेल शान्ति पुरस्कारका लागि मनोनित

एजेन्सी –  स्विडेनकी एक १६ वर्षे किशोरी ग्रेटा थुन्बर्ग नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा परेकी छिन् । जलवायु परिवर्तनका लागि लडेको र यसबारे विभिन्न अभियान चलाएको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको लागि उनको उम्मेद्वारी मनोनित गरिएको हो ।

तीन जना नर्वेली सांसदले नोबेल पुरस्कारका लागि उनको नाम दर्ता गराएका हुन् । यदि उनले यो पुरस्कार जितिन् भने उनी सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता बन्नेछिन् । पाकिस्तानकी मलाला युसुफजाई अहिलेसम्मकै सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता हुन् । यो पुरस्कार पाउँदा उनी जम्मा १७ वर्षकी थिइन् ।

नर्वेका समाजवादी सांसद फ्रेडी आन्द्रेले भनेका छन्, ‘हामीहरुले ग्रेटा थनबर्गको नाम प्रस्तावित गरेका छौँ । किनभने यदि जलवायु परिवर्तन रोक्नको लागि केही पनि गरेनौ भने हामी युद्धको कारण बन्न सक्छौँ ।’ उनले भने, ‘ग्रेटा थनबर्गले विभिन्न अभियानहरु सञ्चालन गरेकी छन्, जसलाई मैले शान्तिको लागि गरिएको प्रमुख योगदान ठानेको छुँ ।’

 

सय भन्दा बढी देशहरुमा शुक्रबारको दिन हजारौँ स्कुले विद्यार्थीहरु जलवायु परिवर्तनको विरुद्ध आन्दोलनमा उत्रिन्छन् । भविष्यका लागि शुक्रबार भन्ने ह्यासट्यागसहितको यो स्कुले अभियान ग्रेटाले नै चलाएकी हुन् ।

अहिले यो अभियान फैलिएर विश्वव्यापी बनिसकेको छ । जर्मनी, फ्रान्स, बेलायत, बेल्जियम, अष्ट्रेलिया, जापानलगायत विश्वका विकसित देशहरुमा यो अभियान छाइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE