Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपत्यकामा भेटिए हैजाका बिरामी, यस्ता हुन्छन् लक्षणहरु

सवाल सम्वाददाता
बाग्मती-राजधानीमा दूषित पानी पिउँदा हुने हैजाका बिरामी फेला परेका छन् । ताहचलका ४५ वर्षीय एक पुरुषमा केही दिनअघि हैजाको जीवाणु देखिएको हो । पेट दुखेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा भिब्रियो कलेरा नामक ब्याक्टेरिया भेटिएको  अस्पतालले पुष्टि गरेको हो । गर्मी मौसममामा  दूषित पानी पिउँदा हैजा देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । दुषित पानी पिउँदा हैजा लाग्ने भएकाले शुद्ध पानी पिउनुपर्ने डाक्टरहरुको सल्लाह छ । हैजा लाग्‍ने जीवाणु फोहोर पानीमा मात्र पाइने र अहिले उपत्यकामा देखिएको हैजा पनि दूषित पानी पिउँदा नै भएको हो अस्पतालले जनाएको छ ।  दूषित पानी पिउँदा देखा पर्ने हैजाको लक्षण देखिएलगत्तै उपचार नगरे संक्रमित मानिसको मृत्युसमेत हुने गर्छ। चिकित्सकहरू हैजाको लक्षण देखिनेबित्तिकै अस्पताल जानुपर्ने बताउँछन् ।

शरीरमा हैजाको जीवाणुको संक्रमण भएमा पातलो दिसा लाग्छ । योसँगै गोडा बाउँडिने, तारन्तार बान्ता हुने, छाला चाउरी पर्न थाल्ने, आँखा गाडिनुका साथै मुख सुक्‍खा हुने लक्षण देखिन्छ । यसका साथै रक्तचाप कम हुने, धेरै पसिना आउने, रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्‍ने गर्छ ।  लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ । अन्त्यमा रक्तसञ्चार बन्द भएर बिरामीको मृत्युसमेत हुने गर्छ ।

यसबाट जोगिन पानी राख्‍ने भाँडो सफा हुनुपर्दछ । भाँडो सफा हुँदा हुँदै पनि बाहिरको धुलो र किटाणु पर्नसक्ने भएकाले पानीलाई सधैँ छोपेर राख्‍नुपर्छ ।  सकेसम्म पानी उमालेर पिउनु पर्छ । अझ काठमाडौं उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ ।  काँचो खानेकुरा सकेसम्म खानु हुँदैन । गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाई खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखाल्नुपर्छ ।  बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नु पर्छ । सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ । खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने । साबुन नलगाई धोएको हातबाट हैजा रोकिँदैन । त्यसैले साबुनको प्रयोग राम्ररी गर्नुपर्छ ।

धेरै पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीलाई भन्‍ने र सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ । यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा पीयूषको प्रयोग गर्ने र  हावाबाट फैलने रोग सर्न नदिन मास्कको प्रयोग गर्नुपर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE