पाँचथरमा अज्ञात समुहद्वारा ९ जनाको हत्या, अनुसन्धान टोली घटनास्थल पुग्दै
घाइते भएकी सीताको भनाइ अनुसार मुखुण्डो लगाएर आएका सो समुहले एक्कासि आफ्नो परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गर्न थाले
सवाल सम्वाददाता
मेची- पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ३ आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको छ । एकजना बालिका भने भागेर बाच्न सफल भएकी छन् । हत्या के कारणले कस्ले गर्यो भन्ने खुल्न सकेको छैन् ।
प्रहरीको अनुसार आरुबोट भन्ने ठाउँका दुई परिवारका नौं जनाको हत्या भएको हो । जसमा एक परिवारका ५ र अर्का परिवारका ४ जनाको हत्या भएको हो । प्रहरी अहिलेसम्म घटनास्थल पुग्न नसकेको कारण घटनाको कारणबारे केही भन्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जनाएका छन् । यद्यपी प्रहरी घटनास्थल प्रस्थान गरिसकेको बताएका छन् ।
स्थानीयका अनुसार हत्या भएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
भागरेर बाँच्नेमा १२ वर्षीया सीता खजुम रहेकी छन् । उनको पनि अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारको लागि अस्पताल लगिएको छ । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते भएकी सीताको भनाइ अनुसार हत्याराहरुले मुखुण्डो लगाएर आएका थिए । एक्कासि आएर सो समुहले आफ्नो परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गर्न थालेपछि आफु भागेको बताईन् ।
घटनास्थल सदरमुकाम फिदिमबाट टाढा रहेकाले प्रहरीलाइ घटनास्थाल पुग्न समस्या भएको प्रहरी निरीक्षक पौडेलले बताएका छन् । उता अनुसन्धानका लागि झापाबाट अनुसन्धान टोली आउँदै गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । उनका अनुसार झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ आउदै छ ।
एकसाता अघि मात्रै पाँचथरकै हिलिहाङ गाउपालिकाकी १५ बर्षीया किशोरीको हत्या भएको थियो । ति किशोरी हत्यारा पत्ता लगनउन नसकेकै अवस्थामा अर्को घटना भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE