विभिन्न स्थानमा निषेधाज्ञा, उपत्यकाको न्युरोड र टेकु क्षेत्र सिल गर्न सिफारिस
२४, श्रावण
काठमाडौँ-उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि संक्रमण पाइएपछि उच्च जोखिममा परेका स्थान सिल गरिएको हो । साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा समेत बन्द गरिएको छ ।
गृह मन्त्रालयको शुक्रबारको विवरणमा १८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । उक्त जिल्लाका केही स्थानमा पुर्ण र कतिपय स्थानमा आंशिक निषेधाज्ञा जारी गरिएको छ । गत बुधबारसम्म १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएकामा दुई दिनमा थप ५ जिल्ला र विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
यसबाहेक काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासनले अत्यावश्यकबाहेकका सबै सेवा १५ दिनका लागि बन्द गरेका छन् । गृहले बुधबार रातिबाटै लागू हुने गरी २ सयभन्दा बढी उपचार भइरहेका संक्रमित भएका जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइसकेको छ । अत्यावश्यकबाहेकका सवारीलाई राजधानी प्रवेशमा समेत कडाइ गरिएको छ ।
कुन कुन जिल्लामा कस्तो निषेधाज्ञा
उपत्यकाका तीन जिल्लामा सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सप्तरी, बाँके, बारा, पर्सा, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियाका सबै क्षेत्र निषेधित घोषणा गरिएको छ । दैनिक उपभोग्य वस्तु किनमेलमा केही लचकता अपनाइएको छ । केही जिल्लाका स्थानीय तहले स्थानीय प्रशासनको अनुमतिमा जोखिममा परेका आ–आफ्ना क्षेत्र अनिश्चितकालका लागि सिल गरेका छन् । समुदायस्तरमा कोरोना देखिए तत्काल सिल गरेर आवतजावतमा रोक लगाउन गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
निषेधाज्ञा जारी भएका स्थानमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा प्रवाह अर्को आदेश नभएसम्मका लागि कटौती गरिएको छ । शुक्रबार नै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले अत्यावश्यकबाहेकका सबै सेवा साउन २५ देखि भदौ ८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । ६ बुँदे निर्णय गर्दै संक्रमणविरुद्धको प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन अत्यावश्यक सेवाबाहेकका कामकारबाही स्थगन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । निषेधाज्ञाको पालना अनुगमन गर्न प्रशासनबाट संयन्त्र परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
आइसोलेसन क्षमता बढाउन सुझाव
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले पूर्वाधार भएका ठूला क्वारेन्टाइनलाई ‘आइसोलेसन केन्द्र’ बनाउन अस्पतालहरूलाई सुझाव दिएका छन् । प्रमुख जिल्ला अधिकारीाहरू जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै राष्ट्रियस्तरका क्वारेन्टाइनलाई पूर्वाधार थप गरेर आइसोलेसन वार्डको संख्या बढाउन सुझाव दिएका छन् ।
असन र न्युरोड क्षेत्रमा व्यवसाय गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रलाई सिल गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, असन र टेकु आसपासका व्यक्तिमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गर्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले न्युरोड क्षेत्र सिल गर्नेबारे भने औपचारिक पत्र आएपछि निर्णय लिने बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE