आरडीटी जस्तै द्रुत एन्टिजेन परीक्षण निर्देशिका स्वीकृत गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
२५ भाद्र
काठमाडौँ—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भएरनभएको पत्ता लगाउनका लागि द्रुत एन्टिजेन परीक्षण किटलाई स्विकृती दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको एन्टिजेन परीक्षणको निर्देशिकालाई परिमार्जनसहित स्विकृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
उनका अनुसार पीसीआर महंगो, परीक्षण विधि लामो र रिपोर्ट आउन पनि समय लाग्ने गर्छ । त्यसैले सेन्सिटिभिटी राम्रो भएका द्रुत एन्टिजेन परीक्षण किटको आवश्यकता भएको हुनाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मन्त्रालयमा बुझाएको निर्देशिकालाई परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरिएको हो । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको निर्देशिकामा के उल्लेख छ र त्यसमा के परिमार्जन गरिने छ भन्ने विषयमा भने केही बताएनन् । यद्यपी मन्त्रालय स्रोतका अनुसार यो निर्देशिका आइतबारसम्म सार्वजनिक हुनसक्छ ।
सामान्य भाषामा भन्नुपर्दा एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरिरमा भाइरस सक्रिय रहेको जनाउँछ । एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरिरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परिक्षणको प्रविधि लगभग उस्तै नै हो ।
मन्त्रालयको उच्च स्रोतका अनुसार निर्देशिकामा नेपालका प्रवेश विन्दुहरुमा तथा लक्षण भएका बिरामीहरुलाई मात्र प्रयोग गरिनुपर्ने पनि उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयले साउन १४ गते प्रकाशित गरेको कोरोना भाइरसको राष्ट्रिय परीक्षण मापदण्डमा नै एन्टिजेनमा आधारित द्रुत परीक्षण गर्ने भन्ने उल्लेख गरेको थियो । तर, यसको प्रयोग निर्देशिका नबनेका कारण हालसम्म प्रयोग भने गरिएको थिएन ।
खासमा छिमेकी राष्ट्र भारतले पनि साउन महिनादेखि नै परीक्षणको दायरालाई बढाउनका लागि एन्टिजेन परीक्षण किटको प्रयोग गर्दै आइरहेको छ । भारतीय आर्युविज्ञान तथा अनुसन्धान परिषद (आईसीएमआर) ले गत असार महिनाको पहिलो साता तिरै एन्टिजेन किट प्रयोग गर्नका लागि बाटो खुला गरिसकेको थियो । आईसीएमआर भदौ १९ गते नयाँ परीक्षण मापदण्ड प्रकाशित गर्दै एन्टिजेनमा आधारित द्रुत परीक्षण किटको प्रयोगलाई थप व्यापक बनाउने निर्णय गरेको छ । आईसीएमआरको मापदण्ड अनुसार द्रुत एन्टिजेन परीक्षणको सवालमा पोजिटिभ रिपोर्ट आएमा परीक्षण गरिएको व्यक्तिलाई लक्षण देखिएको भए वा नदेखिएको भएपनि संक्रमित नै रहेको मानिने छ ।
यस्तै परीक्षण रिपोर्ट निगेटिभ आएको छ तर लक्षण भने कोरोनासँग मिल्दोझिल्दो छ भने पीसीआर गरेर संक्रमित भएरनभएको जाँच गर्नुपर्छ । यस्तै निगेटिभ आएको र लक्षण पनि नदेखिएको अवस्थामा भने त्यसलाई निगेटिभ नै मानिने र लक्षण देखिएको अवस्थामा पुनः परीक्षण गराउनुपर्ने उल्लेख छ ।
यो समाचार कान्तिपुर दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE