नेप्सेमा भारी गिरावट : २२ अंकले घटेको नेप्से १ हजार ५ सय ४६.१५ विन्दुमा रोकियो
६ असोज
काठमाडौँ – मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचक पनि ओरालो लाग्न दबाब पुगेको हो।
यस दिन नेप्से २२.९१ अंक अर्थात १.४६ प्रतिशत घटेर १५४६.१५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८४ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ प्रतिशत घटेको छ। यस दिन १९९ कम्पनीको २ अर्ब ८० करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको ७८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ओरालो लागेको बजारलाई पनि करेक्सनको संज्ञा दिइएको छ। गत साता ५० अंकभन्दा बढी बढेको बजार अहिले करेक्सन भएको विश्लेषण गरिएको छ। नेप्से निरन्तर बढेमा त्यसलाई अलि खतराको संकेत मान्नु पर्ने तर, बेलाबेलामा करेक्सन भई बढेमा सो वृद्धि प्राकृतिक र दिगो हुने जानकारहरु बताउँछन्। त्यसैले, यस दिन बजार ओरालो लागेपनि आगामी दिनमा भने बजार बढ्ने निश्चित भएको उनीहरुको भनाइ छ।
दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट
यस दिन कारोबारमा आएका दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। लिबर्टी इनर्जी र घलेम्दी हाइड्रोको शेयरमूल्यमा यस दिन नकारात्मक सर्किट लागेको हो। यस दिन सर्वाधिक घटेका १० कम्पनीको सूचीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन्।
युनाइटेड फाइनान्सको शेयरमूल्य भने यस दिन ६.८२ प्रतिशत बढेको छ। नबिल बैंकसँग जोडिएर आएको समाचारले यस फाइनान्सको शेयरमूल्य बढाएको हो। यद्यपि, नबिल बैंकले प्राप्त गर्ने कुनै निर्णय नभएको फाइनान्सका अधिकारीहरु बताउँछन्।
यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, बैंकिङ्ग, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने समाचारले सो इन्स्योरेन्सको शेयर कारोबार बढाएको हो। त्यसैगरी, यस दिन नेपाल बैंकको करिब २० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE