Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कुलमान घिसिङलाई नै प्राधिकरण कार्यकारी निर्देशकमा नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा

९ असोज
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिनुभएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन वर्तमान नेतृत्वलाई आग्रह गर्नुभयो ।

मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मूल नेतृत्व नभएको महसुस नहुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । जति दिन निमित्त कार्यकारीका रूपमा रहनुहुन्छ, म निमित्त हुँ भन्ने सोच नराख्नुस् । तपाईं अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ, मन्त्री पुनले कोइरालालाई भन्नुभयो ।

उहाँले केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिनुभयो ।

उहाँले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्न सक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE