Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ : मन्त्री भट्टराई

२१ असोज 

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ ।

ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आउनुभएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भन्नुभयो, “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।”

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दशैँ, तिहारजस्ता चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पार्नुभयो ।

यसअघि आज बिहान मन्त्री भट्टराईले ओलाङचुङ्गोलास्थित बिओपीको उद्घाटन गर्नुभएको थियो । चीनसँगको सीमावर्ती क्षेत्रमा बिओपी स्थापनासँगै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती क्रमशः घट्दै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागि हुनुहुन्थ्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE