Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

परीक्षा सञ्चालन गर्न सरकारको सैद्धान्तिक स्वीकृति

२१ असोज
काठमाडौँ – सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो ।

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालीम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति ९गठन० आदेश, २०७५ संशोधन गर्ने तथा मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयबाट स्थगन भएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रियालाई सञ्चालन गर्ने स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै शिक्षक सेवा आयोगका अध्यक्ष र एक महिलासहित अन्य दुई सदस्यको नियुक्तिका लागि सिफारिश गर्न लोकसेवा आयोगका अध्यक्षका अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको सिफारिश समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीलाई तोक्ने र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE