Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आइसियुमा हुनुपर्ने कोरोना संक्रमित सडकपेटीमा भेटिए, किन कि उनी अझै बेहोस भएका छैनन् !

२६ असाेज
काठमाडाैँ – राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक। आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ।

ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो।

ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो । तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’।

कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिनाअघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् ।

बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मीरसिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो । साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे ।

चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

निजगढमा लामाकी श्रीमती मात्र छिन् । दसैँमा श्रीमान् पक्कै आउँछन्, पैसा ल्याउँछन् र ऋण तिरिएला भनेर उनी कुरेर बसेकी छिन् । ‘घरमा जहान मात्रै छिन् । कमाएर ल्याउँछ भनेर पर्खिरहेकी होलिन्,’ उनी सुनाउँछन् ।

कमाउन आएका उनले रोजगारी पाएनन् । सडकमै भए पनि मनकारीले दिएको खाना खाएर गुजारा गरिरहेका थिए । कामको खोजी जारी थियो । तर, दौडिँदा–दौडिँदै उनी कतिवेला संक्रमित भए, थाहै भएन।

लामो संक्रमित देखिए पनि उनीसँग खाना खाने ३० भन्दा बढी व्यक्ति र उनी सुतेकै पाटीमा सुत्ने ६ जनाले अझै कोरोना जाँच गराउन सकेका छैनन् । संक्रमण देखिएको रिपोर्ट दिँदा त जानकारी नगराउने यो राज्य संयन्त्रले सम्पर्कमा आएका व्यक्तिलाई सम्पर्क गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ला ? गर्यो भने समाचार अवश्य आउनेछ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ  ।

WRITE COMMENTS FOR THIS ARTICLE