Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको जवाफ : चिठी ‘अस्वाभाविक र असान्दर्भिक’

२२ पुष
काठमाडौँ
– नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगले पठाएको चिठीलाई ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । उक्त पक्षले दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र मंगलबार आयोगलाई लेखेको छ । कुनै पनि पक्षबाट दलको आधिकारिकतालाई लिएर मागदाबी नआएपछि नेकपाको विवाद निरूपणको विषय थप पेचिलो बनेको छ ।

आयोगले कानुनअनुसार प्रक्रिया पुर्‍याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भन्ने आशयको पत्र दाहाल–नेपाल पक्षलाई पठाएको थियो । दाहाल–नेपाल पक्षले आयोगले त्यसरी पत्र पठाएको विषय कानुनअनुसार नमिलेकाले त्यो असान्दर्भिक भएको जनाएको छ । उक्त पक्षले आयोगलाई बुझाएको पत्रमा त्यसको जवाफ दिइरहन नपर्ने व्यहोरा उल्लेख छ । आयोगले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा दाहाल–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो । दुवैतिर पत्रको व्यहोरा फरक थियो । ओली पक्षसँग उसले बुझाएको विवरणका विषयमा स्पष्टता खोजिएको थियो र त्यसका लागि कुनै समयसीमा निर्धारण गरिएको थिएन भने दाहाल–नेपाल पक्षलाई राजनीतिक दलसम्बन्धी दफा ४४ अनुसारको प्रक्रिया पूरा गरेर सात दिनभित्र आधिकारिकता माग दाबी गर्न भनिएको थियो ।

दाहाल–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले एउटै विवादमा दुई पक्षलाई अलग–अलग प्रकृतिको पत्र लेख्नु नै आयोगको गल्ती भएको बताए । ‘आधिकारिकता दाबी गर्न आऊ भनेर हामीलाई पत्र लेख्नुपर्ने कुनै कारण छैन, हामी आधिकारिक नै छौं, केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थितिमा बैठक गरेर त्यसको निर्णय आयोगलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘आयोगले दलको बहुमत हेर्ने हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

WRITE COMMENTS FOR THIS ARTICLE