Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल सत्ता सहकार्यबारे कुनै छलफल भएको छैन : कर्ण

२५ फागुन
काठमाडौँ – सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताउनु भयो ।

मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकमा एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल बनाएको भन्ने विषय उठेपछि कर्णले सत्ता सहकार्यका लागि नभई चौधरीको रिहाइको विषयमा कुरा भएको बताउनु भयो ।

‘प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताहरूले आफूहरू प्रधानमन्त्रीका प्रतिनिधि हौं । वार्ता गर्न आउनुस् भनेपछि गएका हौं । रेशम चौधरी लगायतका आन्दोलनका क्रममा जेलमा परेका नेता कार्यकर्ता रिहाइका लागि भनेर छलफल भएको हो,’ कर्णले भन्नु भयो ।

सत्ता सहकार्यबारे छलफल गर्न जसपामा कुनै कार्यदल गठन नभएको पनि कर्णले बताउनु भयो । ‘सांसद रेशम चौधरीलाई छोडिदिनुस् भनेर सरकारको नेतृत्व गरिरहेको दलसँग वार्ता भएको हो । छलफलमा म र सर्वेन्द्रनाथ शुक्ल तथा नेकपा एमालेकातर्फबाट सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका सल्लाहकारहरू राजन भट्टराई र विष्णु रिमाल हुनुहुन्थ्यो,’ कर्णले भने, ‘हामी सोमबार दिउँसो गएका थियौं । सत्ता सहकार्यबारे केही भएको छैन । हामीले राखेका कुरा सुन्नुभयो र हामीले पनि सुन्यौं । उहाँहरूको कुरा सकारात्मक थियो । सत्ता सहकार्यबारे छलफल गर्न त अहिले संसदीय दलको बैठक भइरहेको छ ।’

संसदीय दलको बैठकमा कार्यदल गठनबारे सबैले प्रश्न उठाएको सांसद इकबाल मियाँले बताए । बैठकमा सांसदहरूको भनाइ उद्धृत गर्दै मियाँले भने, ‘एक दुई जना गएर हुँदैन । यो बैठकले कार्यदल गठन गरोस् र सबैसँग छलफल गरोस् । ओलीसँग मात्रै छलफल गर्न कार्यदल गठन गर्न हुँदैन भन्ने कुरा उठ्यो ।’

बैठकमा तीनवटै पक्ष (केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा) ले विगतमा सहमति गरेर कार्यान्वयन नगरेका कुरा पनि उठेकाले आगामी रणनीति अपनाउँदा होसियार हुनुपर्ने कुरा उठेको पनि मियाँले बताए । त्यस्तै बैठकमा ओलीका पछिल्ला कदमको आलोचना गरिएको र मुद्दाका हिसाबले राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारेमा छलफल भएको उहाँले  बताउनु भयो ।

ओलीसँग छलफल भएको हो–होइन भन्ने कुरा उठेपछि संसदीय दलको बैठकमा नेतृत्वबाट यस्तो स्पष्टीकरण आएको थियो ।

टीकापुर घटनामा संलग्न चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले पुस २ गते जन्मकैदको फैसला सुनाएको भयो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाइ नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ । जसपाले टीकापुर घटना राजनीतिक विषय भएको हुँदा चौधरीको रिहाइ हुनुपर्ने बताउँदै आएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE