प्रचण्ड माओवादी संसदीय दलको नेता चयन
३ चैत
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए । त्यसैगरी राष्ट्रियसभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाई छ । उनले भने– ‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’
माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे । संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रियसभा सदस्य र ४ जना प्रतिनिधिसभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE