Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

होटलमा श्रीमानसँगै बसेकी महिला मृत फेला, घटना शंकास्पद

११ चैत

जनकपुरधाम – जनकपुरधामस्थित एक होटलमा विगत दुई दिनदेखि आफ्नो श्रीमानसँगै बसेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।

श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउन्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुर आएकी श्रीपाली दुईदिन पश्चात मृत अवस्थामा भेटिएकी हुन् ।

यस सम्बन्धमा उनका श्रीमान विश्वास श्रीपालीले आफूहरु विगत दुई दिनदेखि बसिरहेको रामानन्द चोकस्थित होटलको पाँचौ तल्लाबाट गएराति उनले हाम फालेर आत्महत्या गरेको बताएका छन् ।

उनले भने, ‘राति १२ बजेसम्म हामीहरू गफगाफ गरेर सुत्यौँ । बिहान करिब साढे ३ बजेको समयमा अचानक ब्यूँझँदा सृजनालाई नदेखेपछि खोज्न थालेँ । खोज्दै जाँदा उनको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउन्ड भित्र फेला पर्यो ।’

यता, सृजना आफैले हाम फालेर आत्महत्या गरेको वा उनलाई कसैले मारेको हो कि भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट फर्केको प्रहरी समक्ष बताएका छन् । घटनाको प्रकृति हेर्दा घटना शंकास्पद देखिएकाले प्रहरी विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE