आज बिमस्टेक मन्त्रीस्तरीय बैठक
१९ चैत
काठमाडौं – बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज (बिहीबार) बस्दै छ ।
मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ ।
नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने कार्यक्रम रहेको छ । उहाँसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनुहुनेछ । बिहीबार अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ ।
भर्चुअल रूपमा बुधबार बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको थियो । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । साथै बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा समेत ठोस बाटो तय गर्ने जनाइएको छ ।
सैन्य कू भएको म्यानमार पनि बैठकमा सहभागी बनेको छ । पाँचौ शिखर सम्मेलनको तयारीको रुपमा पनि अहिलेको बैठकलाई हेरिएको छ । बिमस्टेक सदस्यहरुमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्यान्ड र भुटान छन् ।
बिमस्टेकको एउटा सदस्य मुलुक म्यान्मारमा रक्तपात मच्चिरहँदा र असफल राष्ट्र बन्नेतर्फ उन्मुख भैरहेको आशंका भइरहँदा परराष्ट्रसचिव स्तरिय बैठकमा म्यान्मारबारे केही एजेन्डा तय भएको छैन ।
म्यानमारमा नरसंहार भइरहेका बेला त्यसको विरोध गर्नुको साटो उसलाई नै सामेल गरेर यसरी कूटनीतिक रूपमा बहुपक्षीय छलफल गर्नुलाई परराष्ट्रविज्ञहरुले अनौठो मानेका छन् ।
नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् । जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE