Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कोरोना महामारीः सरकारले हात उठाएको चिकित्सक संघको आपत्ति

१८ वैशाख, काठमाडौँ – नेपाल चिकित्सक संघले कोरोना महामारीबारे सरकारी प्रतिक्रियाप्रति आपत्ति जनाएको छ ।

शनिबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा। बद्री रिजालद्वारा जारी विज्ञप्तिमा सरकारको भनाईले संघको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १७ गते सर्वसाधारणका नाममा गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पताल शय्या उपलब्ध गराउन नसकिने भै सकेको छ भनि सूचना प्रेषित गरेकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘महामारीको संक्रमण बढदै गईरहेको शुरुकै अवस्थामा स्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिडविरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल चिकित्सक संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग र सहकार्य गर्न सँधै तत्पर रहेको स्पष्ट पारेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE