नेताहरुको व्यस्तताले एमाले कार्यदलको बैठक अनिश्चित
४ जेठ, काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल आज पनि अनिश्चित भएको छ ।
कार्यदलमा सदस्य रहेका नेताहरुको कार्यव्यस्तताले छलफल अनिश्चित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफल पछि कार्यदल गठन गरिएको थियो ।कार्यदललाई तीन दिनभित्र विवाद समाधानको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको नेता नेपालले बताउनुभएको थियो ।
तर एक पटक पनि कार्यदलको बैठक बस्न सकेको छैन । आज पनि शंकर पोखरेल दाङ जानु भएकाले बैठकको सम्भावना नदेखिएको स्रोतले बताएको छ ।
यसबिचमा अनौपचारिक छलफल भने चलिरहेको बताईन्छ । अब बैठक बसेपछि एकैपटक टुङ्ग्याएर मात्रै उठ्ने तयारी रहेको पनि स्रोतको दावी छ ।
नेपाल पक्षले माओवादी केन्द्रसँग एकता हुनुपूर्वको अवस्था अर्थात २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राखिरहेको छ । प्रधानमन्त्री ओलीनिकट नेताहरू भने जेठ २ बाट परिस्थिति निकै अघि बढिसकेकाले त्यहाँ पुग्न कठिन हुने बताइरहेका छन् ।
विवादकै बीच वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्यको रिक्त स्थानका लागि बिहीबार उपचुनाव हुँदैछ ।यो चुनावमा एमालेबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ आधिकारिक उम्मेदवार हुनुहुन्छ भने नेपाल निकटका उम्मेदवार खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट चुनावी मैदानमा हुनुहन्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE