Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अक्सिजन सिलिण्डर कालोबजारी गर्ने तीन पक्राउ

५ जेठ, काठमाडौँ – अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालोबजारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिण्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद रु ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ ।

उनीहरु विरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE