आज किरात समुदायको महान पर्व उभौली मनाइँदै
१२ जेठ, काठमाडौँ – प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ ।
खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।
बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ ।
उभौली पर्वको अवसरमा अवसरमा परम्परागत वेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । तर यो वर्ष पनि उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउँदै छन् । गर्त वर्ष पनि किरातीहरुले पूजामात्र गरेर मात्रै उभौली मनाएका थिए ,
किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले भन्नुभयो, ‘कोरोना कारण लकडाउन गरिएकाले सार्वजनिक ठाउँ नाचगान नगर्ने निर्णय गरेएका छौँ, घर(घरमा पूजा गर्ने, अनि सकेला पूजाथानहरुमा चहिँ पुजारी नछुङहरुले मात्रै पुजा गर्नेछन् ।’ किरात समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गरेका छन् ।
यसअघि यो पर्वको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाई, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नचिने गरिन्थ्यो । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्ने गरिँथ्यो ।
साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ । साकेला पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, लगायत जिल्लाका किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE