एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त
एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त
१४ जेठ, काठमाडौं- सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गर्नुभएको छ । पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो । संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको छ ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा तारा लामा तामाङ हुनुहुन्थ्यो । साबिकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुँदा उक्त दलको सचेतकमा तत्कालीन नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल हुनुहुन्थ्यो । प्रमुख सचेतकको जिम्मेवारीबाट बाहिरिनुभएका तामाङ मन्त्री बन्न लाग्नुभएको एमाले संसदीय दलको स्रोतले बताएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आजभोलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नुभएको बताइएको छ ।
नेकपा एमालेको केही दिनअघि बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेश, एमाले संसदीय दलको बैठकले अहिले कोरोना महामारीको विषम परिस्थिति रहेको र छिट्टै बजेट नीति कार्यक्रम ल्याउनु पर्ने भएको अवस्थामा हाललाई गठबन्धनको सरकारलाईनै यथावत् राखेर समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । सो पार्टीको संसदीय दलमा नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE