Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माण अघि बढाउने तयारी

३१ जेठ,काठमाडौँ – राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रू. तीन अर्ब ५१ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, यांग्री खोलामा हेडवर्क र यांग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ । सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का लाग्ने उनले बताए । उनले भने, ‘सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि यांग्री वा लार्के खोलामा गर्न सकिँदैन ।’

आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ । दोस्रो चरणमा यांग्री र लार्के खोलामा छुट्टाछुट्टै ‘हेडवर्क’ बनाउनुपर्ने प्रवक्ता पन्तले बताए । त्यस्तै दोस्रो चरणमा कम लम्बाइका दुई सुरुङसमेत निर्माण गर्नुपर्ने हुन्छ । डिजाइनअनुसार शुरुमा लार्केबाट दुई किमी सुरुङ बनाएर यांग्री खोलामा पानी खसालिन्छ ।

यांग्रीबाट पनि अर्को सुरुङ बनाएर त्यो पानी मेलम्चीमा खसालिने उनले बताए । यांग्रीबाट मेलम्चीसम्मको सुरुङको लम्बाई नौ किमी रहेको छ । उनले भने, ‘दुवै सुरुङ बनेपछि दुवै खोलाको पानी मेलम्चीमा मिसिने छ ।’

मेलम्ची खोलाबाट सुन्दरीजलसम्मको सुरुङको लम्बाई २७ किमी छ । यो सुरुङभन्दा दोस्रो चरणमा निर्माण हुने सुरुङहरुको लम्बाई कम हुने भएकाले कम समयमा सकिने प्रवक्ता पन्तले बताए । त्यस्तै, पहिले सुरुङ निर्माणको अनुभव नभएपनि अहिले अनुभव भएको उनले बताए । उनले भने, ‘स्रोत उपलब्ध भएमा धेरै समय लाग्दैन ।’

दोस्रो चरणको निर्माणस्थल यांग्रीसम्म पुग्न २५ किमी पहुँच सडक निर्माण गत वर्ष शुरु भएको थियो । सडक विभाग र समिति दुवैले स्तरोन्नतिको काम गरिरहेका छन् । सडक विभागले भइरहेको सडकको स्तरोन्नति गरिरहेको छ । समितिले झण्डै १० किमी र विभागले १५ किमी सडक निर्माण गरिरहेको छ ।

गत आवमा निर्माण शुरु भएकामा आगामी आवमा सकिने प्रवक्ता पन्तले बताए । सडक निर्माण भइरहँदा यांग्री र लार्केमा हेडवर्क वा सुरुङ निर्माण नसकिए पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने उनले बताए ।

दोस्रो चरणमा आयोजना निर्माणस्थलमा अहिले क्याम्प बनाउने, मुआब्जा बाँड्ने, वातावरण व्यवस्थापनलगायतका काम भइरहेको छ । अघि नै अध्ययनको काम भइसकेको छ । पहिलो चरणमा एशियाली विकास बैंकको सहयोगमा आयोजना निर्माण भएकोमा बैंकले दोस्रो चरणको निर्माणमा समेत चासो देखाएको छ ।

चालू आवमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकोमा सरकारले आगामी आवमा सोही आयोजनाअन्तर्गत यांग्री र लार्के खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउन आवश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकोमा दैनिक थप १७र१७ गरी ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आवमा सो आयोजनाको लागि रू। तीन अर्ब ५१ करोड विनियोजन गरिएको छ ।

सरकारले आगामी आवमा काठमाडौं उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिने बजेट बक्तव्यमा उल्लेख छ ।

त्यस्तै, दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइने छ । सो कामका लागि सरकारले रू. चार अर्ब ७९ करोड विनियोजन गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE