Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने

१५ असार, काठमाडौँ – आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ।

फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो। पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने काम सकेपछि केबलकार सञ्चालनको तयारीमा थियो। कोरोनाको दोस्रो लहरका कारण सञ्चालन पछि सरेको हो,’ प्रालिका निर्देशक त्रिपाठीले भने।

कोरोना संक्रमण नियन्त्रणमा आएलगतै जापानी प्राविधिक टोली पोखरा आउनेछन्। केबलकार व्यावसायीक रूपमा सञ्चालनअघि पूर्ण परीक्षण सुरु गरेर  दसैं र तिहारको बीचमा सञ्चालन गरिने उनले बताए। केबवलकारमा सराङ्कोटसम्मको शुल्क पनि निर्धारण भइसकेको छ।

नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ। यसैगरी एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए। विद्यार्थी र वृद्धवृद्धालाई २० देखि २५ प्रतिशतसम्म छुट दिइने पनि निर्देशक त्रिपाठीले बताए। पोखरा महानगरपालिकाको राजस्व निर्धारण समितिसहितको टोलीले शुल्क निर्धारण गरेको हो।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE