Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कास्कीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

१७ असार, काठमाडौँ – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

‘मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ उनले भने, ‘चालकले भागेर ज्यान जोगाए । आमाको घटनास्थलमै मृत्यु भयो ।’

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

पहिरो परी मृत्यु भएकी अधिकारीलाई ४ दिनदेखि कोरोना संक्रमणको लक्षण देखिएको थियो । उनकी बुहारी, नाति, र नातिनीलाई कोरोना पोजेटिभ देखिएको थियो । अधिकारीको ज्वरो बढेर हिँड्नै नसक्ने भएपछि कोरोना परीक्षण बिनै उपचारका लागि अस्पतालतर्फ लगिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE