१४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने
पार्टी बैठक अब बालुवाटार नबस्ने
८ साउन, काठमाडौँ -नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने जानकारी दिनुभयो । पार्टीले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो । पार्टीका सहमहामन्त्री महतले क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पु¥याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव नदेखिएको बताउनुभयो ।केन्द्रीय अधिवेशन नसर्ने पार्टीको केन्द्रीय अधिवेशनको कार्यतालिका भने हेरफेर नगर्ने तयारी छ ।
पूर्वनिर्धारित समयमा अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण केन्द्रीय महाधिवेशन भने नसर्ने उहाँले स्पष्ट गर्नुभयो । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ । कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर सार्न सकिने सम्भावना भए पनि निर्धारित समयमै अधिवेशन सम्पन्न गर्ने नै अहिलेसम्मको तयारी रहेको जानकारी नेताहरूले दिएका छन् । यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ ।
पार्टी बैठक अब बालुवाटार नबस्ने
नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको औपचारिक बैठक बस्ने विगत लामो समयदेखिको परम्परा तोड्ने भएको छ । अबदेखि काँग्रेसको औपचारिक बैठक बालुवाटार बाहिर बस्ने भएको छ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विगतदेखिको गलत परम्परा तोड्दै अब बालुवाटारमा पार्टीका औपचारिक बैठक नबस्ने जानकारी दिनुभएको छ । यसै क्रममा काँग्रेसले शुक्रबारका लागि आयोजना गरेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यताको विवादका कारण कार्यकर्ताको धर्ना तथा अनशन जारी रहेका कारण बैठक देउवाको निजी निवासमा आयोजना गरिएको जानकारी नेताहरूले दिएका छन् । यो समचार आजको गोरखापत्र दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE