Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

ठाकुर पक्षका ९ सांसदको पद जोखिममा

८ साउन, काठमाडौँ – जनता समाजवादी पार्टीको आधिकारिकताको विवादमा उपेन्द्र यादव पक्षले बाजी मार्ने लगभग निश्चित भएको छ । ठाकुर पक्षले कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएन भने कानुनी रूपमा ठाकुर पक्षका ९ सांसदको पद जोखिममा पर्ने भएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा ४० प्रतिशत पुर्‍याउनलाई कम्तीमा २१ जना कार्यकारिणी सदस्य ठाकुरको पक्षमा हुनु पर्छ तर अहिलेसम्म २० जनाभन्दा बढी कार्यकारिणी सदस्य ठाकुरको पक्षमा छैनन् । यसै गरी ३४ सदस्यीय संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनालाई कम्तीमा १५ जना सांसद ठाकुरको पक्षमा हुनु पर्छ । अहिलेसम्म १४ जना मात्र सांसद ठाकुरको पक्षमा उभिएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएमा नयाँ पार्टी खोल्न सक्ने व्यवस्था छ । केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत नपुर्‍याएमा नयाँ पार्टी खोल्न त सकिन्छ तर आधिकारिक पार्टीबाट निर्वाचित भएको सार्वजनिक पद गुम्ने जोखिम रहन्छ । ‘त्यस्तो स्थिति आएमा ठाकुर पक्षमा लागेका ९ जना सांसदको पद जोखिम पर्ने सम्भावना रहन्छ’ ठाकुर पक्षका एक कार्यकारिणी समितिका सदस्यले भने ‘आफ्नो पद जोखिममा पार्न नदिन अहिले नै केही सांसदहरू उपेन्द्र यादव कित्तामा पुगिसकेका छन् ।’

पद जोखिममा रहेका ठाकुर पक्षमा सांसदहरूमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत छन् । यसै गरी २ जना प्रदेश सभा सांसद मनिष सुमन र जितेन्द्र सोनालको पनि पद जोखिममा पर्ने भएको छ ।

निर्वाचन आयोगले ११ गते ११ बजे आयोगको कार्यालयमै बोलाई जसपाका कार्यकारिणी समितिका सदस्यहरूको टाउको गणना गर्ने भएको छ । टाउको गणनामा उपेन्द्र यादव पक्ष बहुमतमा पुग्ने भएको छ ।

आफ्नो पक्ष अल्पमतमा पर्ने भए पछि ठाकुर पक्षका केही नेताहरूले ११ गते निर्वाचन आयोगमा नजान पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । ठाकुर पक्षका नेता मनिष सुमनले भने निर्वाचन आयोगले बोलाएको मितिमा साउन ११ गते निर्वाचन आयोगमा जानु पर्ने बताए । ‘विधिको शासनलाई मान्य हो भने आयोगले बोलाएमा जानु पर्छ’ सुमनले भने ।

ठाकुर पक्षलाई नयाँ पार्टी खोल्ने सङ्ख्या समेत नपुग्ने भए उपेन्द्र यादव पक्षले ठाकुर पक्षका सांसदहरूलाई कारबाही गर्ने निश्चित छ । ‘त्यो अवस्थामा या उपेन्द्र यादव पक्षमा जानु पर्छ या कारबाही भोग्न तयार हुनु पर्छ’यादव पक्षका एक नेताले भने ।

अहिले जसपाका कार्यकारिणी सदस्यहरू तानातानमा परेका छन् । खास गरी कुनै पक्षमा नखुलेका कार्यकारिणी सदस्यहरू तानातानमा परेका हुन । राजकुमार लेखी, गोविन्द चौधरी लगायतका केही सदस्यहरू अहिलेसम्म कतैतिर खुलेका छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE