Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, को–कोलाई गरियो निम्तो

२८ भदौ, काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्दै छ । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ । २३ भदौ गतेदेखि सुरु भएको संसद अधिवेशनमा एमालेले संसद अवरुद्ध गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE