Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

शिक्षक महासंघ सडक आन्दोलनमा जाने चेतावनी

४ असार, काठमाडौं-३४ सूत्रीय माग राखेर नेपाल शिक्षक महासंघ गएको वैशाख २० गतेदेखि आन्दोलनरत छ । कोभिड–१९ का कारण महासंघले आन्दोलनको ‘मोडालिटी’ परिवर्तन गरेर डिजिटल माध्यमबाट आन्दोलन गरिरहेको छ । सरकार महासंघका मागहरुमा गम्भिर नभएको महासंघले जनाएको छ । आफ्ना माग, अन्दोलनलगायत विषयमा जानकारी दिन महासंघले जुमबाट पत्रकारसँग छलफल कार्यक्रम राखेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष पूर्णप्रसाद दवाडीले सरकारले आफ्न मागहरुलाई सम्बोधन नगरे सडक आन्दोलनमा नै जाने बताउनुभयो । अध्यक्ष दवाडीले भन्नुभयो, “मुलुकभरिका शिक्षक तथा कर्मचारीले कोरोनाको खोप नलगाएसम्म भौतिकरुपमा हुने कक्षा बहिष्कारको घोषणा गर्दछौँ ।” उहाँले शिक्षकलाई कोरोना लागे विद्यालय सुुरक्षित नहुने भन्दै विद्यार्थी र शिक्षकको सुरक्षाको लागि पनि खोप अनिवार्य सर्त भएको बतानुभयो ।

आगामी बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा सरकारले १५ हजार रुपैयाँ तोकेर त्यसमा आठ हजार सरकारले दिने र बाँकी स्थानीय तहले व्यहोर्ने नीतिलाई महासंघले ‘अस्पष्ट’ भन्दै विरोध गरेको छ । “कर्मचारीको तलब दिन सरकारले कन्जुस्याइँ गरे सडक आन्दोलनमै जानेछौँ ।”अध्यक्ष दवाडीले भन्नुभयो । अनलाइन चलिरहेको कक्षामा अवरोध नगर्ने र एसईईको नतिजा प्रकाशित गर्न सरकारलाई सहयोग गर्ने उनले स्पष्ट पारे । कतिपय कुरामा महासंघ सर्वोच्च अदालतसम्म जान सक्ने उहाँको भनाई छ ।

महासंघका पदाधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटी आफ्नो मागपत्र बुझाइसकेका छन् । तर, अहिलेसम्म महासंघको आधा माग पनि सम्बोधन नभएको बताइएको छ ।

आगामी आर्थिक बर्षको बजेट भाषणमा सरकारले निजामती कर्मचारीलाई बिमाको व्यवस्था गरेको छ । शिक्षकहरु निजामती कर्मचारी नभएको र बिमाको लाभ लिनबाट वञ्चित गरी विभेद गरिएको भन्दै महासंघले विज्ञप्ति निकालिसकेको छ । निजामती कर्मचारीका लागि अस्पताल, निजामती कर्मचारीका छोराछोरी पढ्ने विद्यालय स्थापनाको लागि बजेट छुट्ट्याउँदा कर्मचारीबीच विभेद गरिएको महासंघको आरोप छ ।

विगतमा सरकारले आफूहरुका माग पूरा गर्ने वाचा गरे पनि अहिलेसम्म पूरा नभएको अध्यक्ष दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो “द्वन्द्वपीडित शिक्षकलाई अहिलेसम्म सरकारले सम्बोधन नगरी बेवास्ता गरेको छ । शिक्षकलाई दोस्रो दर्जामा राखेर, शिक्षकलाई भुलेर गुणस्तरीय शिक्षा सम्भव छ ?”

WRITE COMMENTS FOR THIS ARTICLE