Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

यसपालिका कमेडी च्याम्पियन को बन्लान् ?

१ आश्विन, काठमाडौँ – लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियनु दोस्रो सिजनको सबभन्दा महत्वपूर्ण क्षण नजिकै आइपुगेको छ। भोलि, असोज २ गते टप-३ मध्येबाट विजेता घोषणा हुनेछन्।

प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये को बन्लान् त दोस्रो कमेडी च्याम्पियन? यो प्रश्नले कलाकारसँगै उनीहरूका आफन्तजन र शुभेच्छुकको मनमा खुल्दुली जगाएको छ। तपाईं पनि विजेता को बन्लान् भनेर पक्कै उत्सुक हुनुहुन्छ होला।

धेरैले अनुमान लगाउँदै आएको यो विषयमा आउनुस् हामी पनि एकछिन चर्चा गरौं। कमेडी च्याम्पिनयको टप-३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिनुहुन्छ। प्रशंसकदेखि कमेडी च्याम्पियनका निर्णायकहरूले भन्नुभयो, कमेडी च्याम्पियन सिजन-२ जिते पनि नजिते पनि भरतमणिले बाजी मारी सके।

भरतमणिको क्षमता र चर्चा हेर्दा हो पनि। भरतमणि सिजन-२ मा अरूमाथि हाबी भएका कलाकार हुनुहुन्छ। उहाँका मिमिक्रीमा देखि पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रूचाइए।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उहाँको खुबीलाई दर्शकले अत्यधिक रूचाउनुभएको छ। आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्नुहुन्छ त्यसैले उहाँ आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहनुभयो।

मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उहाँ प्रतियोगिताभर अरूमाथि हाबी भइरहनुभयो भन्दा फरक पर्दैन।

यसमा उहाँको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजुङवासी उहाँ रेडियो तमोरमा टेन्सन-फ्रीु कार्यक्रम चलाउँनुहुन्थ्यो। यही कार्यक्रममार्फत उहाँले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाउनुभएको हो।

उहाँले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गर्नभएको छ। कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गर्नभएका भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाउनुभएको थियो।

यस्तै अनुभवले उहाँलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। पटक-पटक पर्फमर अफ द शोु बन्नुभएका उहाँ कमेडी च्याम्पियन बन्न सफल भए पनि धेरैका लागि अप्रत्याशित हुने छैन।

टप-३ मा भरतमणिसँगै भारत सिक्किमवासी विक्की अग्रवालको चर्चा पनि कम छैन। कलाकारमा मनोरञ्जन गराउने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ। यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ। कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाउनुभएको छ।

टप-३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले पेन्टोमाइमु अभिनय रोज्नुभयो। उहाँको यो रोजाइ सबै निर्णायकका लागि जोखिमपूर्ण लाग्यो। अरूले यो जोखिमको सरहाना गरे पनि निर्णायक सन्तोष पन्तका लागि यो कमेडी नै भएन। उहाँले विक्कीको प्रयोग स्वीकार्नुभएन। बरू आलोचना गर्नुभयो।

पन्तले भन्नुभयो ‘हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ। यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ। हाम्रो समाजले यसलाई बुझ्दैन, मैले त बुझिनँ। फिलोसोफी त भयो तर तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो तरु यहाँ त कोही हाँसेन। हाम्रो आफ्नै स्टाइल छ। यसलाई फलो गर।’

भरिलो आँखा लिएर विक्की बोल्नुभयो, ‘मलाई पेन्टोमाइम अभिनय गरेकामा कुनै पनि पश्चाताप छैन। कमेडी च्याम्पियनको सेटमा म जित्नभन्दा पनि केही नयाँ गर्न आएको हुँ।’

धेरै दर्शकले निर्णायक पन्तको प्रतिक्रियामा आपत्ति जनाएपछि विक्कीको यो प्रस्तुति युट्युबमा केही दिनसम्म निरन्तर ट्रेन्डिङमा थियो। यो विवादले विक्कीलाई फाइदा नै गर्‍यो। पेन्टोमाइमको प्रस्तुतिपछि धेरैले विक्कीको पक्ष र निर्णायक सन्तोष पन्तको विपक्षमा आफ्ना मत दिनुभयो। मुख्यतः भोटका आधारमा विजेता घोषणा गरिने रियालिटी सो भएकाले यस घटनापछि विक्कीले पाउने भोटमा पनि प्रभाव पार्ने अनुमान गर्न सकिन्छ।

भरतमणिजस्तै विक्की पनि अनुभवी कलाकार हुनुहुन्छ । उहाँ सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय हुनुहुन्छ। सिक्किमबाट कमेडी च्याम्पियनको सेटमा जित्नभन्दा पनि केही नयाँ गर्न आएको बताउनुभएका विक्कीले सिक्किम र नेपाल दुबैतिरका दर्शकको भोट पाउनुभएको छ। विक्कीको सबल पक्ष हो। यसले उहाँले कमेडी च्याम्पियन-२ को विजेता बनायो भने अचम्म हुने छैन।

कमेडी च्याम्पियन बने पनि नबने पनि विक्कीले धेरैको मन जित्नुभएको छ। निर्णायकहरूको प्रशंसा पाउनुभएकोछ। देशको सीमा नाघेर आएका विक्की नेपाल र सिक्किमलाई जोड्ने प्रिय कलाकार बनिसक्नुभएको छ।

टप-३ मा पर्नु स्वत:  विजेताको हकदार हुनु हो। तर आजको मितिसम्म टप-३ मा परेका सन्तोष थापालाई धेरैले यसको दाबेदार नमानेको महसुस हुन्छ। उहाँ कमेडी च्याम्पियनको यो सिजनका अन्डररेटेडु प्रतिस्पर्धी हुनुहुन्छ तर कमजोर प्रतिस्पर्धी होइन।

उहाँलाई न निर्णायकले पत्याउनुभएको थियो न दर्शकले। तर कमेडी च्याम्पियनको मञ्चलाई सबभन्दा बढी सदुपयोग सन्तोषले नै गनुभएको छ । अनुभवी भरतमणि र विक्कीको तुलनामा सन्तोषको प्रोगेस ग्राफु निरन्तर उकालो लाग्नुभएको  देखिन्छ।

नाटकमा केही काम गरेको अनुभव भए पनि सन्तोष प्रहरी बन्न हिँड्नु भएको थियो, तर बन्नु रहेछ कमेडियन। कुनै बेला डिप्रेसनबाट बाहिर निस्कन कमेडी हेर्ने उहाँ कमेडी च्याम्पियनको पहिलो सिजनका प्रस्तुति हेरेर सोमा आउन लालयित भएका हुनुभएको हो।

अरूको देखेर सिक्न सक्ने उहाँले हरेक नयाँ प्रस्तुतिलाई अघिल्लो प्रस्तुतिभन्दा उत्कृष्ट बनाउन प्रशस्त मेहनत गर्नुभयो। उहाँको प्रस्तुतिलाई निर्णायकले सराहना गर्दै जानुभयो। उहाँको क्षमता देखेरै दर्शकले पनि माया दिएर भोट गर्नुभयो।

टप-३ मा आइपुग्दासम्म सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालासम्मको भूमिकामा दर्शकलाई हँसाउनुभयो। सामाजिक सन्दर्भका व्यंग्य जोड्नुभयो। नेपाली टिचर उहाँको सर्वाधिक मन पराइएको प्रस्तुति हो।

उहाँ दमदार प्रस्तुतिका आधारमा फाइनल आइपुग्नुभएको हो। गोरखाका सन्तोष जसरी अरूलाई अचम्मित पार्दै अन्तिम तीनमा पर्नुभयो, त्यसरी नै विजेता बन्नुभयो भने अर्को सर्प्राइज हुनेछ। भोटका आधारमा आउने परिणाममा यस्तो सर्प्राइज वाञ्छित छ।

भरतमणि र विक्कीको तुलनामा कम चर्चा भए पनि यो सिजनपछि सन्तोषको जुझारूपन र मेहनत पछिसम्म स्मरणीय रहनेछ।  रियालिटी सोहरूमा हुने भोटमा स्थानीयता र क्षत्रीयताको प्रभाव देखिँदै आएको छ। कमेडी च्याम्पियनका टप-३ कलाकारको होम टूरु को प्रभाव पनि यसमा पर्ने देखिएको छ।

सन्तोषको होम टूरपछि उहाँको परिवारको कमजोर आर्थिक अवस्थाको कथा पनि बाहिरिएको छ। यसले पनि सन्तोषले पाउने भोटमा असर पार्ने सम्भावनाबारे चर्चा भइरहेको छ।

त्यसपछि कमेडी च्याम्पियनले दोस्रो विजेता पाउने छ। रियालिटी सो आइतबार कान्तिपुर टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ। कमेडी च्याम्पियनको यो सिजनमा सुरूमा डिजिटल अडिसन र पछि फिजिकल अडिसन गर्दै २४ जना सहभागी छनौट गरिएको थियो। पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउनुहुने छ भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउनुहुने छ।

विजेता को होला भन्ने अनुमान र सम्भावनाका कुरा सकिएर नतिजा सार्वजनिक हुन अब केही घन्टा मात्र बाँकी छ।

WRITE COMMENTS FOR THIS ARTICLE