डाक्टर बन्नेहरु परीक्षा रोकाउन खोज्दै
२८ पुष
काठमाडौँ – मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूले परीक्षा रोक्न माग गरेका छन् । एमबीबीएस दोस्रो वर्षका विद्यार्थीहरूले परीक्षा स्थगनको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानका डिनलाई पत्र लेखेका हुन् । विद्यार्थीहरूले कोरोना महामारीका कारण परीक्षाको वातावरण नभएको भन्दै विज्ञप्तिमार्फत् जानकारी गराएका हुन् ।
विद्यार्थीहरूले आगामी चैत्र १० गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना महामारीका कारण वार्षिक क्यालेन्डर विपरित भएको आरोप लगाएका छन् । महामारीले सबै विद्यार्थीलाई मानसिक रूपमा गञ्जागोल बनाएकोले परीक्षाको निम्ति तयार नभएको उल्ल्लेख गर्दै परीक्षाको मिति सार्न उनीहरूले अनुरोध गरेका हुन् ।
‘कोरोना महामारी र लकडाउनका कारण शिक्षा क्षेत्र तहसनहस भएपछि हाम्रो वार्षिक क्यालेण्डरमा प्रतिकूल असर पर्न गएको विदितै छ । महामारीले हामीलाई पनि त्रास र मानसिक तनाव पैदा गर्न पुग्यो,प्रयोगात्मक कक्षाहरूबाट पनि बञ्चित हुन पुग्यौं,अनलाइन कक्षाहरू पनि नियमित हुन सकेन’ विज्ञप्तिमा भनिएको छ ‘यस्तो अवस्थाले अधिकांश कलेजका विद्यार्थीहरू परीक्षा दिन असमर्थ भएका कारण हाम्रो अविभावकत्व ग्रहण गरी सम्बन्धित निकायसँग छलफल गरेर विद्यार्थीहरूको भविष्यप्रति गम्भीर बन्न अनुरोध गर्दछौं ।’
यता, चितवन मेडिकल कलेजमा बीडीएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थीहरूले पनि परीक्षा स्थगित गर्न माग राख्दै डिन कार्यालयलाई पत्र लेखेका छन् । उनीहरूले पनि कोरोना महामारीका कारण वार्षिक क्यालेण्डर प्रभावित भएको अवस्थामा परीक्षा लिनु उपयुक्त नहुने जनाएका छन् । ‘विद्यार्थीहरू अहिले परीक्षाका लागि मानसिक रूपमा तयार नभएको अवस्थामा घोषित मितिको परीक्षा स्थगित गरी सरोकारवाला सबैको सहमतिमा उपयुक्त समयमा नयाँ तालिका तय गर्न अनुरोध गर्दछौँ’ भन्दै विद्यार्थीहरूले माग गरेका छन् । यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE