Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सभामुख अग्नि सापकोटाको मुद्दामा पेसी तोकियो, यस्तो छ सापकोटाको मुद्दा

३ पुष
काठमाडौं
– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद चलिरहेको बेला सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ । सभामुख सापकोटाको मुद्दा अन्तिम पटक ०७६ फागुन ३० गते पेसीमा चढेको थियो । उक्त दिनमा हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाइ सरेको थियो।

सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ ।

२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन् ।

के हो सापकोटाको मुद्दा ?

सभामुख अग्नि सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्याको ओरोप लागेको छ । द्वन्द्वकालीन अवस्थामा तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन् । उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।

डा।बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा संचारमन्त्री नियुक्त हुनुभएको थियो । सापकोटालाई मन्त्री बनाएका बेला मन्त्री रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले २०६८ असार ६ गते अवहेलना मुद्दा दायर गरेका थिए ।

२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन । यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५र१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो । सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ।

पूर्णिमायाको जाहेरी दरखास्त दर्ता भएपछि आरोपित सापकोटाले मानवअधिकार उल्लंघन गरेको भन्दै काभ्रे प्रहरीद्वारा पक्राउ पुर्जीसमेत जारी गरेको थियो । तर २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले काभ्रे प्रहरीमा दर्ता सापकोटाविरुद्धको जाहेरी दरखास्त ‘तामेली’ मा राख्ने निर्णय गरेको थियो ।

पूर्णिमायाले मन्त्रिपरिषद्ले गरेको ‘तामेली’ मा राख्ने निर्णयविरुद्ध सर्वोच्चमा २०६९ मंसिर ७ मा रिट निवेदन दर्ता गरिन् । निवेदन दर्ता भएको चार दिनपछि तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले सरकारसँग जाहेरी तामेलीमा राख्नुको कारण माग्दै अन्तरिम आदेश जारी ग(यो ।

२०७० साल असार १९ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको थियो । त्यही मुद्दा सर्वोच्चको संवैधानिक इजलास पुगेको छ । अहिले त्यहि मुद्दाको पेसी तोकिएको हो ।

यसरी भएको थियो अर्जुन लामाको हत्या

२०६२ वैशाख १६ मा तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेका थिए । स्थानीय श्रीकृष्ण मावि दाप्चा, छत्रेबाँझ विद्यालय व्यवस्थापन समितिको चुनावबाट अध्यक्षमा निर्वाचित भएको दिनमै लामा विद्यालय परिसरबाटै अपहरणमा परेका थिए । उनलाई ‘केही कुराकानी गरी फर्काउने’ भन्दै तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी लगेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE