Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

सुदूरपश्चिममा राम्रो विकास भएको छ : मुख्यमन्त्री भट्ट

१ आश्विन, डोटी –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको जानकारी दिनुभएको छ। जोरायल गाउँपालिका–२ बुडरमा आज जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उहाँले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताउनुभयो । नौवटै जिल्ला सदरमुकामसम्म सडक कालोपत्र गरिएको उहाँको भनाइ थियो ।

युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सडक सुविधा पुर्याएका कारण जोरायलस्थित छहरा झर्ना, पूर्वीचौकीको बगलेकलगायत पर्यटकीय ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको मुख्यमन्त्री भट्टले बताउनुभयो । सायल गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र भेलछडासम्म सडक निर्माणको काम अघि बढाइएको उहाँको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE