वीर योद्धाले जनताको आवाज उठाएको छ : निर्माता भण्डारी

५ आश्विन, काठमाडौँ – बिगत डेढदशक देखि निरन्तर चलचित्र निर्माणमा सकृय गुणराज राजभण्डारीको निर्माण रहेको पछिल्लो चलचित्र हो ‘वीर योद्धा’ जुन रिलिजको शंघारमा रहेको छ ।
असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने तयारीमा रहेको ‘वीर योद्धा’ सेन्सरले अड्चन देखाएपछि केही दृश्य सम्पादन गरि आगामी शुक्रबारबाट रिलिज हुने निर्माता राजभण्डारीले जानकारी गराउनु भएको छ ।
‘कालापानी’ र ‘आगो २’ निर्माण गरिसेकका गुणराज राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका केन्द्रिय कोषाध्यक्षको रुपमा काम गरिसक्नु भएको छ भने हाल युवा संगठनको केन्द्रिय कार्यकारिणि सदस्यको रुपमा सकृय भएर काम गरिरहनु भएको छ ।
आफुलाई देश र जनताको सिपाही सम्झी देशको स्वाधिनता र स्वाभिमान प्रति अत्यन्तै चिन्तित भएर जनताको कथामा चलचित्र बनाउदै आईरहनु भएका निर्माता गुणराज राजभण्डारीको पछिल्लो चलचित्र ‘वीर योद्धा’ पनि राजनैतिक बिषयमा आधारित रहेकोले सेन्सर बोर्डले केही दृश्यमा कैची चलाएको भएपनि कथाको मर्ममा फरक नपरेको उहाँको भनाईछ । यसै बिषयवस्तुमा आधारित रहेर निर्माता गुणराज राजभण्डारीसंग गरिएको कुराकानी :
१. असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने भनिएको चलचित्र ‘वीर योद्धा’ किन रोकियो ?
हामीले असोज १ गते डिसहोमबाट रिलिज गर्ने भनेर भाद्र ३१ गते चलचित्र सेन्सर बोर्डलाई देखाएका थियौ, राजनीतिक बिषय भएकोले गृह मन्त्रालयका विज्ञहरुले पनि चलचित्र हेर्नु पर्ने र अनिमात्र सेन्सर हुने जानकारी भएपछि भोलिपल्ट पुनः चलचित्र हेर्ने काम भयो र केही दृश्य सम्पादन गरि रिलिजको लागि अनुमति पाएसंगै यही शुक्रबार रिलिज गर्ने भएका छौं ।
२. राष्ट्रवादी चलचित्रले पटकपटक यस्तो खालको समस्या झेल्नु पर्ने कारण ?
सेन्सर बोर्डको अदुरदर्शिताका कारण र चलचित्रलाई हेर्ने परम्परागत दृष्ट्रिकोणले राष्ट्रवादी धारका चलचित्र पटकपटक सेन्सर बोर्डको सिकार हुन पुगेको हो । उदाहरणको लागि आगो, दशगजा, कालापानी आदि चलचित्रलाई लिन सकिन्छ ।
३. ‘वीर योद्धा’ चलचित्रले व्दन्दको विषयलाई उठान गरेको हुँनाले प्रदर्शनमा रोक लगाइएको हो त ?
सायद हुन सक्छ, यस चलचित्रमा राजनीतिक र व्दन्दलाई समेटेर नै निर्माण भएको छ ।
४. सेन्सर बोर्डले गृह मन्त्रालयलाई देखाएर ल्याउनुहोस् भन्नुको कारण के हो ?
राजनीतिक विषयवस्तु भएको कारण्ले गर्दा होला ।
५. तपाईहरुको टिमले निर्माण गर्ने चलचित्रको कथावस्तु यस्तो रोज्नुको कारण ?
हामी देशमा भएको राजनैतिक भ्रष्टचार, बिकृती, विसंगतीलाई विषयवस्तु बनाई चलचित्र मार्फत उजागर गर्ने र आम नागरिकहरुको पनि प्रतिनिधित्व गर्ने हुँदा यस्तो विषय वस्तुमा चलचित्र निर्माण गर्दा ब्यवसायिक रुपमा पनि सफल हुने भएको हुनाले यस्तो विषयवस्तु छान्ने गरेका हौं ।
६. स्वतन्त्र रुपले आमजनता समक्ष वास्तविक विषय पस्कन नपाउँदा देशमा प्रजातन्त्र आएजस्तो लाग्छ ?
संविधानले मौलिक हकको अधिकार कायम गरेता पनि शासक वर्गमा अझै पनि पुरानै निरंकुश ब्यवस्थाको छङछङी रहेको देखिन्छ लोकतन्त्रमा यस्तो हुनु दुःखद कुरा हो ।
७. भारतीय फिल्मको सेन्सरमा कडाई गरेको पाईदैन नि ?
भारतमा चलचित्रलाई हेर्ने दृष्ट्रिकोण अलि फराकिलो रहेको पाइन्छ र नेपालमा भारतीय चलचित्र सेन्सर गर्दा सायद उहाँहरु प्रलोभनमा पर्नुहुन्छ होला ।
८. हलहरु बन्द छन् यस्तो अवस्थामा पनि जोखिम मोलेर चलचित्र निर्माणलाई निरन्तरता दिनुको कारण ?
हलहरु बन्द हुनु राम्रो होइन । समय अनुसार परिमार्जित हुँदै जानु पर्छ । अहिले डिजिटल प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्दा राम्रा चलचित्रले ब्यवसायिक सफलता पाएको हामीले बुझेका छौं त्यसैले चलचित्र निर्माणलाई निरन्तरता दिएका हौं ।
९. फिल्मले जनताको आवाज बोल्ने भएका कारण प्रदर्शनमा रोकिएको हो कि ?
अवस्य पनि हामीले निर्माण गर्ने खालका चलचित्रले आम जनताको आवाज प्रस्फुटन गर्ने गरेको छ । यस चलचित्रले पनि देश र जनताको प्रतिनिधित्व गरेको छ र नेताहरुले जनता प्रति गरेको ढाँट प्रवृतिको उठान ‘बीर योध्दा’ले गरेको छ ।
१०. भाबि योजना के छ ?
राम्रो बिषयवस्तुको खोजिमा छौं, पाएको खण्डमा पुनः अर्को चलचित्र निर्माण गर्ने योजनामा छौं ।
११. अन्त्यमा केही भन्नु हुन्छ कि ?
यस्ता राष्ट्रवादी, जनताका आवाज बोल्ने चलचित्रहरुलाई सेन्सर बोर्डले दुःख नदिंदा राम्रो हुन्छ । बरु यस्ता चलचित्रलाई राज्यले प्रोत्साहन गर्नु पर्दछ भन्ने मेरो भनाई हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE