लहानमा सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माणका लागि मन्त्री तेजुलाल चौधरीको प्रतिबद्धता
सिरहा, लहान – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सिरहाको लहानमा खेलकुदका लागि सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लहानस्थित थारू सामुदायिक सेवा केन्द्रको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्थानीय तहलाई ठोस प्रस्ताव पेस गर्न आग्रह गरेका छन्।
“लहान र सुरूङ्गा नगरपालिकाका प्रमुखहरूले खेलकुद पूर्वाधारको आवश्यकता औंल्याएका छन्। यस विषयमा म अत्यन्त सकारात्मक छु। तपाईंहरूले ठोस प्रस्ताव मन्त्रालयमा ल्याउनुहोस्, बजेटको स्रोतको व्यवस्थापन गर्ने जिम्मा मेरो हुनेछ,” मन्त्री चौधरीले भने।
थारू समुदाय बाहुल्य रहेको यस क्षेत्रमा खेलकुद पूर्वाधारको अभावले युवाहरूको प्रतिभा ओझेलमा परेकोप्रति मन्त्री चौधरीले गहिरो चिन्ता व्यक्त गरे। साथै, थारू समुदायको पहिचान र आत्मगौरवका लागि निर्माणाधीन थारू सामुदायिक भवनका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। लहान–१ सिङ्राहीस्थित करिब दुई करोडको लागतमा उक्त भवन निर्माण भइरहेको छ।
कार्यक्रममा मधेश प्रदेशका सांसद राजेन्द्रप्रसाद चौधरी, लहान नगरप्रमुख महेशप्रसाद चौधरी, सुरूङ्गा नगरप्रमुख गीता चौधरी लगायतका वक्ताहरूले लहान क्षेत्रलाई खेलकुदको गन्तव्य बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए।
थारू सामुदायिक भवन र खेलकुद पूर्वाधारको विकासले यस क्षेत्रका युवाहरूलाई अवसर प्रदान गर्ने विश्वास स्थानीय समुदायले व्यक्त गरेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE