लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न प्रतिवेदन पेश
१० आश्विन,काठमाडौं – नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाण समक्ष प्रतिवेदन पेश गरेको छ ।
समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रममाका विच प्रतिवेदन गृहमन्त्री खाणलाई बुझाउनुभएको हो ।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले भन्नुभयो, ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनु भएको छ ।
यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’ मन्त्री खाणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवादसमेत दिएका छन् । अध्ययन प्रतिवेदन त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजकसमेत रहेका सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराउनुभएको थियो ।
अध्ययन समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) उमेशराज जोशी, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सह–अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ रहेका छन् । मन्त्रिपरिषद् बैठकले भदौ १६ गते उक्त सीमा अध्ययनका लागि समिति बनाएको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE